विकासका लागि नर्वेद्वारा ९६ करोडको सहयोग

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – नर्वे सरकारले दोस्रो चरणको स्थानीय शासन र सामुदायिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई रु ९६ करोड २० लाख वित्तीय सहयोग उपलब्ध गराउने भएको छ ।

आगामी चार वर्षसम्म सञ्चालन हुने उक्त कार्यक्रम स्थानीय शासन सुधारका साथै प्रभावकारी सेवा प्रवाह, क्षमता विस्तार, नतिजामा आधारित व्यवस्थापन, सङ्घीय शासन, सामाजिक परिचालन, बालमैत्री स्थानीय सरकार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, जीवनयापन सुधारलगायत स्थानीय शासन सुधारका कार्यक्रममा केन्द्रित हुनेछ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत सम्बन्धित मन्त्रालयले स्थानीय निकायमार्फत मुलुकका ७५ जिल्ला, ५८ नगरपालिका र तीन हजार ९१५ गाउँ विकास समितिमा उक्त कार्यक्रम कार्यान्वयन गर्ने छ ।

आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सचिव युवराज भुसाल र नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेनले वित्तीय सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । ।

सो अवसरमा राजदूत पिटर्सेनले कार्यक्रम कार्यान्वयनपछि स्थानीय निकायका पदाधिकारी राज्य र नागरिकप्रति अझ उत्तरदायी बन्नुका साथै सेवा प्रवाह प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us