मिडिया कमजोर बनाएर श्रमजिवीको हित हुन्छ भन्ने पक्षमा छैन: विष्ट

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते ८:१५ मा प्रकाशित

नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभयो, तपाईंका लागि यो चुनौती की अवसर ?

mahendra 3एउटा पत्रकारका लागि पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको अध्यक्षको जिम्मेवारी लिन पाउनु खुसीको कुरा हो । यसमा चुनौती र अवसर दुवै छन् ।

तपाईं एउटा टेलिभिजनको समाचार प्रमुख हुनुहुन्छ, हरेक महिना पारिश्रमिक पाउने गर्नुभएको छ ?

मैले हरेक महिना तलब पाउने गरेको छु ।

तपाईंलाई थाहा छ, नेपालका टेलिभिजनहरुमा काम गर्ने कतिपय तपाईंकै तहका समाचार प्रमुख र निर्वाचनमा तपाईंलाई मत दिने धेरै पत्रकारले कति महिनामा तलब पाउने गरेका छन् ?

मलाई राम्ररी थाहा छ । लामो समयदेखि पत्रकारिता आन्दोनलमा छु । त्यसबारेमा अध्ययन अनुसन्धान पनि गरेको छु । पत्रकारलाई नियुक्तिपत्र नदिने, तलब नदिने, अझ ९–१० महिनाको तलब दिन बाँकी भएपछि छाडेर गइदेओस् भन्ने किसिमको व्यवहार गर्ने र जागिरबाटै निकालिदिने सम्मका कामहरु भइरहेका छन् ।

यस्तो हुनुमा सञ्चार प्रतिष्ठानका मालिक वा पत्रकार र कर्मचारी कसको बढी दोष देख्नुहुन्छ ?

मालिक भन्ने शब्दभन्दा त्यसलाई व्यवस्थापन पक्ष वा लगानीकर्ता भन्दा राम्रो होला । पत्रकारले पारिश्रमिक नपाउनुमा सबैभन्दा बढी त व्यवस्थापन पक्षकै दोष देखिन्छ । उनीहरुमा श्रमको सम्मान गर्ने प्रवृत्ति कमजोर देखिएको छ । नेपालको मिडिया बजार कमजोर हुनु पनि त्यसको अर्को कारण हो । अर्को कारण कानुन कार्यान्यवन गर्ने निकाय राज्यको उपस्थिति कमजोर हुुनु पनि हो । आफ्ना हकअधिकारका लागि पत्रकार आफैं जागरुक नभएको र केही दहसम्म पत्रकार महासंघको प्रयास पनि पर्याप्त नभएको कारणले गर्दा त्यसो भएको हो ।

पत्रकारहरु अहोरात्र जनताको सूचना पाउने अधिकारका लागि काम गरिरहेका छन्, तर उनीहरु नै पारिश्रमिक पाउँदैनन्, त्यसका लागि महासंघले के गर्छ ?

पत्रकार महासंघको नयाँ नेतृत्वको पहिलो र सबैभन्दा महत्वपूर्ण प्राथमिकता भनेकै श्रमजिवी पत्रकारहरुका हकहितमा काम गर्नु हो । श्रमजिवी पत्रकार ऐन आएको २० वर्ष भयो, त्यसको २० प्रतिशत पनि कार्यान्वयन भएको छैन । ऐन कार्यान्वयनका लागि पद बहाली भएको एक महिनाभित्रै सञ्चार माध्यमका व्यवस्थापन पक्षसँग वृहत छलफल गर्छौं । उहाँहरु कानुनी व्यवस्था पालना गरेर जान तयार हुनुभयो भने ठीकै छ, नभए कानुनी र ट्रेड युनियन अधिकार प्रयोग गर्न हामी बाध्य हुन्छौं ।

पत्रकार महासंघले पत्रकारितामै विद्यावारिधी गरेको नेता पाएको छ, अब त केही होला भन्ने सबैले सोचेका छन् । तपाईंको कार्यकालमा उनीहरुको आशा कसरी सम्बोधन गर्नुहुन्छ ?

mahendra 2म अहिले यति मात्र भन्छु कि केही समयभित्रै देखिने, सुनिने र भेटिने गरी केही काम हुनेछन् । श्रमजिवी पत्रकारहरुका हकमा हामी इमान्दारीपूर्वक काम गर्नेछौं । अहिले मुलुकमा राज्य पुनसंरचनाको बहस भइरहेको छ । सोही बमोजिम हामीले महासंघको २४ औं महाधिवेशनबाट समावेशी विधान पारित गर्‍यौं । नयाँ विधानअनुसार महासंघका सबै क्षेत्र र समुदायबाट प्रतिनिधित्व भएको छ ।

यस्तै हामी पत्रकार महासंघको कार्यशैलीमा सुधारदेखि पारदर्शिता र सुशासनका कुरालाई जोड दिनेछौं । विगतमा जस्तो केन्द्रले निर्देशन दिएर तलबाट काम गर्ने होइन, तल्ला निकायहरुलाई नै बलियो बनाउनुपर्छ भन्ने मान्यताअनुसार काम गर्नेछौं । पत्रकारहरुको मर्यादा खस्किँदै गएकामा सवत्र्र चिन्ता गरिन थालिएको छ । त्यसमा हामी दुई तरिकाबाट सुधार गर्ने छौं । पत्रकारहरुको दक्षता कमजोर भएर पनि त्यसो भएको हुन सक्छ भन्ने मेरो बुझाई छ ।

पत्रकारहरुलाई देशव्यापी रुपमा क्षमता अभिवृद्धि तालिम दिनेछौं । पत्रकारितामा भर्खरै आएका, काम गरिरहेका र सम्पादक भइसकेका सबैलाई तालिम दिएर क्षमता विकासमा सघाउने उद्देश्य छ । यद्यपि प्रक्रिया तत्कालै सुरु भए पनि त्यसले केही समय लिन सक्छ । दोश्रो पेशागत मर्यादाविपरीतका गतिविधि गर्नेहरु पत्रकार महासंघका सदस्य छन् भने तिनलाई कडाइका साथ कारबाही गर्छौं । उनीहरु महासंघमा रहन सक्दैनन् ।

तपाईंले भन्नुभएको छ नि सञ्चार प्रतिष्ठान बलियो बनाउनुपर्छ, काम गरेका पत्रकारले तलब नपाएको विषयभन्दा मालिकहरुलाई धनी बनाउने कुरालाई किन प्राथमिकता दिनुभएको ?

मैले व्यवस्थापनको पक्षमा वकालत गरेको होइन । मिडियाले उद्योग सरहको मान्यता पाएको छैन, त्यो पाउनुपर्‍यो । उहाँहरुको बिजनेश ‘प्रमोशन’ को कुरा उहाँहरुले नै गर्ने हो । त्यसको नाफा घाटाबारे हामीलाई धेरै सरोकार छैन । तर एउटा कुरा के हो भने मिडिया कमजोर बनाएर श्रमजिवीको अधिकार सुनिस्चित हुन्छ भन्ने पक्षमा म छैन । त्यसो भनेर तलब नदिई काम लगाउनु ठीक हो भनेको होइन । त्यसो गर्न पाइँदैन, पत्रकारलाई तलब आजै दिनुपर्छ । मिडिया उद्योग घाटामै छ भने पनि कम्तिमा नियुक्ति पत्र दिन सकिन्छ, पत्रकारको जीवन बीमा गर्न सकिन्छ ।

निर्वाचनमा हार्ने पक्षले व्यवसायिक पत्रकारहरुको हार र पार्टी पत्रकारको जित भएको भनिरहेको छ, त्यसबारे के भन्नुहुन्छ ?

त्यो उहाँहरुको दृष्टि भ्रम हो । निर्वाचनमा भएको पराजय स्वीकार गर्न नसकेर आएको तत्कालको अभिव्यक्ति मात्र हो । यसबारेमा यत्ति मात्र भनौं ।

त्यो त स्वभाविक हो नि, पार्टीहरुले नै पत्रकार महासंघको उम्मेदवार खडा गरेको कुरालाई कसले देखेको छैन र ?

म कुनै पार्टीको होइन, पत्रकार महासंघको अध्यक्ष हुँ । मैले पत्रकारिता गरेको २२ वर्ष भयो । यो बीचमा पत्रपत्रिका, रेडियो र टेलिभिजन सबैका काम गरेको छु । कुनै पार्टीको काम गरेको छैन । अरुका हकमा के भए त्यो जान्दिन, तर मेरो हकमा कुनै पार्टीले उम्मेदवार बनाएको होइन । पत्रकारहरुकै तर्फबाट पत्रकारहरुकै संस्थाले उम्मेदवार बनाएको हो । संविधानसभाको निर्वाचनमा कुनै पार्टीबाट उम्मेदार भएर हारेकाहरुले, आफ्नो पार्टी जिताउन भोट माग्दै हिंड्नेले यस्ता कुरा गर्नुको कुनै तुक छैन । बरु उहाँहरुलाई चाहिं पार्टीले उम्मेदवार बनाएको हो, मलाई होइन ।

पराजित भएकाहरुलाई कसरी महासंघका काममा समेटेर लैजानुहुन्छ ?

नेपाल पत्रकार महासंघ पत्रकारहरुको छाता संगठन हो । निर्वाचनमा जित हार स्वभाविक कुरा हो । निर्वाचनका क्रममा भएका सबै कुरा पूराना भइसके । हामी सबै मिलेर पत्रकारहरुका व्यवसायिक मुद्धामा काम गर्ने हो । कसैमाथि पनि वैचारिक आस्थाका आधारमा भेदभाव र आग्रह–पूर्वाग्रह राख्ने काम हुँदैन । सबैलाई समेटेर लैजान्छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us