गृहसचिवद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते ७:०४ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख–  गृहसचिव सुर्यप्रसाद सिलवालले प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
nirichhan
त्यस क्रममा उच्च प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै गृहसचिव सिलवालले समाजमा अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्नु प्रहरीको पहिलो प्राथमिकता रहेको बताए ।

उनले स्वच्छ दृष्टिकोण, व्यावसायिक र नागरिक केन्दित भएर जनातको सेवा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले प्ररही संगठनले लिएका  नीति, रणनीति र कार्यक्रमहरुले नागरिक सेवामा सघाउ पुगे/नपुगेको विषयमा पुनरावलोकन गर्न जरुरी रहेको उल्लेख गरे ।

‘नागरिकले प्रहरीप्रति राखेका अपेक्षा र प्रहरीले दिएको सेवालाई तुलनात्मक रुपमा हेरी मूल्याङ्कन गर्नुपर्छ’, उनले भने, ‘संगठनले लिएको नीति र कार्यक्रम लागू गर्न प्रत्येक प्रहरी कर्मचारीले लगनशील, इमान्दारिताका साथ आफ्नो कार्यक्षेत्रमा लाग्नुहोला ।’

समारोहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गृहसचिवबाट प्राप्त निर्देशनलाई नेपाल प्रहरीका सकल दर्जाले हृदयंगम गरी थप सक्रियताका साथ कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता जनाए ।

नागरिकको सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा खरो उत्रन सबै पक्षको सहयोग र सहकार्यबाट मात्र सम्भव हुने उल्लेख गर्दै उनले प्रहरी संगठनको हरेक दर्जामा संगठन, जनता र देशका लागि केही योगदान गरौं भन्ने व्यक्ति र प्रवृत्ति देखा परिरहेकाले आगामी दिन अझै राम्रो हुने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us