काठमाण्डु, २३ वैशाख – एकीकृत नेकपा माओवादीको नयाँ नेतृत्व चयन गर्दै विराटनगरमा जारी राष्ट्रिय सम्मेलन आज सकिँदैछ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा रहने ९९ जनाको नामावली चयन गरेपछि बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भने रुष्ट देखिएका छन् ।
दाहालले आफू पक्षधरलाई मात्र केन्द्रीय समितिमा चयन गर्न प्रस्ताव गरेको भन्दै रुष्ट बनेका हुन् । सम्मेलनको छैटौं दिन आज अध्यक्ष दाहालले अघि सारेका ९९ जनाको नामावली पारित गर्न प्रस्ताव गर्नुहुने कार्यक्रम रहेको छ । यसमा अधिकांश दाहाल पक्षका छन् ।
दाहालले राखेको प्रस्ताव सर्वसम्मति गराउने प्रयास जारी राख्ने र नभए प्रक्रियामा गएर नेतृत्व चयन गरिने प्रवक्ता शर्माले जानकारी दिए ।
नेतृत्व चयन सर्वसम्मत गराउने प्रयास स्वरुप बन्द सत्र नै स्थगित गरेर नेताहरु हिजो दिनभर छलफलमा जुटेका थिए ।
नेतृत्व चयन प्रकृया शुरु हुनुअघि अध्यक्ष दाहालले प्रस्तुत गुर्न भएको राजनैतिक दस्तावेजमा आएका टिप्पणीहरुलाई समेटेर जवाफ दिने कार्यसुची तय भएको छ । आजको बन्द सत्रमा अध्यक्षको सम्बोधनपछि विधान पारित गर्दै नयाँ नेतृत्व चयनको प्रकृया अगाडि बढ्ने एमाओवादीले जनाएको छ ।