व्यवसायीको एकाधिकारले किसान मर्कामा

काठमाण्डु टुडे २०७१ वैशाख २२ गते १२:०५ मा प्रकाशित

 विराटनगर, २२ वैशाख – पूर्वाञ्चल क्षेत्रमा रहेको एकमात्र इस्टर्न सुगर मिलको बजार एकाधिकारका कारण २५ प्रतिशत उखु खेतमै रहेर सुक्न थालेको उखु कृषकहरूले बताएका छन् ।

नगदेबालीका रूपमा रहेको उखुखेतीप्रति कृषकहरूको आकर्षण बढिरहकै अवस्थामा मिलले ढिलासुस्ती एवम् लापरबाही गर्नाले उखु कृषकहरू चिन्ता गर्न थालेका छन् ।

सुनसरीमा तीन हजार ३६५ हेक्टर र मोरङमा दुई हजार १५० हेक्टर जग्गामा उखुखेती लगाइएको उखु उत्पादक सङ्घ मोरङले जनाएको छ । उखुका लागि सरकारले समयमै मूल्य निर्धारण नगर्ने र मिलले पनि उखु काट्न कृषकहरूलाई यसवर्ष समयमै पूर्जी नदिएकाले उखु कटानमा ढिलाइ भएको सङ्घका कार्यवाहक अध्यक्ष शैलेन्द्रराज पाण्डेले बताए ।

उखु कृषकहरूले विगतमा प्रतिक्विन्टल रु ४८१ मूल्य पाएकामा अहिलेसम्म सरकारले मूल्य निर्धारण गर्न नसकेका कारण मिलले पेस्कीस्वरूप रु ४०१ प्रतिक्विन्टल भुक्तानी गरिरहेको छ । किसानले माघ मसान्तसम्मको पेश्कीस्वरूप उखुको भुुक्तानी पाइसकेका छन् भने मूल्य कहिले निर्धारण हुने हो र बाँकी रकम कहिले पाउने हो भन्नेमा कृषकहरू दुविधा र चिन्तामा छन् ।
लागत, मिहिनेत र महँगी बढिरहेका कारण प्रतिक्विन्टल रु ४८१ भन्दा कम हुँदा कृषकहरू लाभान्वित नभई उखुखेती घट्ने अनुमान कृषकहरूको छ ।  सुनसरीमा एक लाख ८७ हजार ९३५ मेट्रिक टन र मोरङमा एक लाख ४६ हजार ५०० मेट्रिक टन उखु उत्पादन हुने दुवै जिल्लाका कृषि विकास कार्यालयको अनुमान छ ।

सुनसरीमा प्रतिहेक्टर ५५ दशमलब ८४ मेट्रिक टन र मोरङमा ६८ दशमलब १३ मेट्रिक टन उखु उत्पादन भइरहेको बताइएको छ ।

सुनसरी र मोरङको महेन्द्र राजमार्गदेखि दक्षिणी क्षेत्रमा सुहाउँदो हावापानी, माटोका कारण यी दुवै जिल्लामा लगभग सानाठूला गरी चार हजार उखु कृषकहरू छन् ।

कृषकहरूले यस वर्ष एक महिना ढिलो अर्थात् पुस १५ देखि उखु काट्न थालेका हुन् ।

अठार महिनासम्म खेतमा हुर्काएको उखु मिलले समयमै खरिद नगर्नाले अहिले खेतमा उखु सुक्न लागेको, मजदुर पनि नपाउने र वर्षात सुरु हुन लागेकाले उखु खेतमै नष्ट हुने अवस्था सिर्जना भएको उखु कृषक सुनसरी अमाही वेलहाका इस्राइल अन्सारीले बताए ।

सुनसरी र मोरङ गरी ३४ लाख क्विन्टल उखु उत्पादन हुँदा रु एक अर्ब ६३ करोड ५४ लाख कृषकहरूको आम्दानी हुने र यसबाट मुलुकको अर्थतन्त्र पनि बलियो हुने भएकाले कृषकको समस्यामा सरकारले ध्यान दिनुपर्ने सुनसरी अमडुवाका उखु कृषक जयहरि शर्माले बताए ।एक क्विन्टल उखुमा १३ किलो चिनी उत्पादन हुने बताइएको छ ।उखुको उचित मूल्य नपाउँदा कृषकहरूलाई ठूलो मर्का पर्ने गरेको सुनसरी देवागञ्जका कृषक मनोज भगतले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us