माओवादी नेता भट्टराईले राष्ट्रिय सम्मेलनको बन्दशत्र छाडे

काठमाण्डु टुडे २०७१ वैशाख २१ गते ४:३८ मा प्रकाशित

विराटनगर, २१ वैशाख– आफ्नो सात बुँदे फरक मतमा व्यापक विरोध भएपछि एकीकृत माओवादी नेता बाबुराम भट्टराई विराटनगरमा जारी पार्टीको राष्ट्रिय सम्मेलनको बन्दशत्र छाडेर हिंडेका छन् ।
baburam
विराटनगर सभागृहमा जारी सम्मेलनको बन्दशत्रमा टोली नेताले समूहगत छलफलमा आएका सुझाव पेश गर्ने क्रममा आलोचना गरेपछि भट्टराई हलबाहिर निस्केका हुन् । कार्यकर्ताले विरोध गरेपछि चक्कर लागेको भन्दै निस्किएका भट्टराई आफू बास बसेको स्वागतम होटल पुगेका छन् ।

भट्टराईले हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावमा असहमति जनाउँदै सम्मेलनमा नयाँ शक्ति गठनको सात बुँदे फरक मत पेश गरेका थिए । बन्दशत्रमा रिपोर्टिङ गर्ने टोली नेताहरुले सात बुँदे प्रस्तावमा भट्टराईले समस्या मात्र उठान गरेको तर समाधानको उपाय नदिएको भन्दै आपत्ति जनाएका छन् ।

उनीहरुले भट्टराईको प्रस्ताव ढोकाबाट नभई चोर बाटो हुँदै झ्यालबाट आएको आरोप लगाएका छन् । ‘सात बुँदे प्रस्ताव चोरबाटो हुँदै झ्यालबाट आएको हाम्रो समूहको निष्कर्ष छ’, आफ्नो समूहको सुझाव पेश गर्दै पूर्ववाइसीएल नेता चन्द्रबहादुर थापा ‘सागर’ ले भने, ‘समस्या मात्र देखाएर समाधानको बाटो स्पष्ट नगरिएको सात बुँदे आवश्यक छैन, यो अर्थहीन छ ।’

आजको बन्दशत्रमा थापासहित विमला सुवेदी र रेणु दाहालले आफ्नो समूहको सुझाव पेश गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us