एमालेमा वैचारिकता एकातिर, नेतृत्वका गठबन्धन अर्काेतिर

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते ७:३७ मा प्रकाशित

umlकाठमाण्डु, १७ वैशाख –  मुलुकमा सामन्तवादको अन्त्य भई पुँजीवाद आइसकेकोे विचार राख्ने उपाध्यक्ष वामदेव गौतमले नेकपा (एमाले)को भावी अध्यक्षका रुपमा नेता केपी शर्मा ओली अघि सारिरहँदा ओली समूहले सामन्तवादको अन्त्य भइनसकेको विचारको अडान छाडिसकेको छैन । यद्यपि, पार्टीको दस्तावेज लेखनमा नेताहरु सहमतिको नजिक पुगेको देखिएको छ ।

उपाध्यक्ष गौतमले युवा किसान सङ्घले आयोजना गरेको कार्यक्रममा आफ्नो वैचारिक कार्यपत्र सार्वजनिक गर्दै अबको दश वर्षमा नेपालमा समाजवाद आउने उद्घोष गरेका थिए ।
ओलीनिकट नेताहरु शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतले गत साता पत्रकार भेटघाट गरी समाज अझै अर्धसामन्ती अवस्थामा रहेको धारणा सार्वजनिक गरेका थिए ।

अर्काेतिर अबको पार्टी अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाल हुनुपर्छ भन्ने सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, योगेश भट्टराई पनि उपाध्यक्ष गौतमले भने झै नेपालमा प्रारम्भिक पुँजीवाद आइसकेको भन्ने धारणा राख्छन् । ओली समूहले जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि उत्तिकै सान्दर्भिक भनेको छ भने नेपाल समूह यसमा सामयिक परिमार्जनको कुरा गरिरहेको छ । यी दुवै विचार समूहलाई मिलाएर पार्टी महाधिवेशनका लागि अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा गठित दस्तावेज लेखन समितिले मङ्गलबार करिब–करिब यसलाई निक्र्यौल गरेपनि यो विषयले औपचारिकरुपमा केन्द्रीय कमिटीमा प्रवेश पाउन बाँकी छ ।

वैचारिकताका आधारमा अध्यक्ष खनाल र नेता नेपालको समानता देखिन्छ । हालसम्मको प्रारम्भिक सहमतिका आधारमा हेर्दा एमालले अब दस्तावेजमा अर्धसामन्ती शब्द नराख्ने, मुलुक पुँजीवादतर्फ उन्मुख भएको उल्लेख गर्ने देखिएको छ ।

अहिले नेतृत्व दाबीका आधारमा एमालेभित्र नेपाल र ओली समूहका आधारमा फरक–फरक भेलाहरु भइरहेका छन्, त्यस्ता भेलामा नेतृत्व हस्तान्तरण तथा सक्षम नेतृत्वका बहस चलिरहेका छन् । पार्टीका आधिकारिक कार्यक्रम तथा संयुक्त भेलामा नेतृत्वको दाबीलाई भन्दा वैचारिक बहसलाई बढी प्राथमिकता दिएको पाइन्छ ।

एमालेमा नवौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र वैचारिकता र नेतृत्वका लागि गठजोड भइरहँदा नेपाली समाजको वर्ग विश्लेषण, जनताको बहुदलीय जनवाद (जबज) को पुनःव्याख्या, भावी नेतृत्वलगायतका सवालमा वैचारिक र साङ्गठनिक बहस पनि चर्किएको छ । यही वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज) का बीस वर्ष र एमालेको नवौँ महाधिवेशन’ विषयक विचार गोष्ठीमा उपस्थिति शीर्ष नेताबीच पनि नेतृत्वको औपचारिक घोषणा त भएन तर आपसी घोचपेच र वैचारिक मतभेद देखिए ।

सो गोष्ठीमा आफूले अध्यक्षमा प्रस्ताव गरिएका नेता ओली निकट मानिने पार्टी सचिव शङ्कर पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै जबजकै विचारका आधारमा राजतन्त्र ढलेको र राजतन्त्र ढल्दैमा सामान्तवादको अन्त्य भइसकेको मान्न नमिल्ने बताए । कार्यक्रममा उपाध्यक्ष गौतमले ओलीको सहमतिकै आधारमा पोखरेलले सो विचार राखेको भन्दै किन यस्तो भयो ? भनी प्रश्न गरेका थिए ।

त्यसको भोलिपल्ट माधव नेपाल समूहका युवा नेताले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सैद्धान्तिक विचारमा समान मत भएका नेताहरु नेतृत्वको गठबन्धनमा किन फरक–फरक कित्तामा भनी प्रश्न गर्दा नेता सुरेन्द्र पाण्डेले आफूहरुले विचारका आधारमा पनि नेतृत्व चयनमा जाने तयारी रहेको बताएको थियो तर गौतमले नेता नेपाललाई अध्यक्षमा स्वीकार गर्ने सम्भावना देखिँदैन ।

अध्यक्ष खनाल यही वैशाख २३ गते चीन भ्रमणमा जानुअघि केन्द्रीय कमिटीको बैठक डाक्ने तयारी भएको बुझिएको छ । यही १० गतेका लागि तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । केन्द्रीय कमिटीले दुई फरक–फरक विचारधारालाई कसरी समेट्छ भन्ने आधारमा पनि नेतृत्वका दाबी कर्ताबीचको भावी सहकार्यमा स्पष्ट हुन सक्नेछ ।

हाल पार्टीभित्र वैचारिक बहस जारी रहेकाले केन्द्रीय कमिटीले यसबारे निधो गर्ने पार्टीका सचिव शङ्कर पोखरेलले बताए । केही साता अघि प्रदीप ज्ञवाली, विष्णु रिमाल, डा पुष्प कँडेल, राजेन्द्र गौतम, भानुभक्त ढकाल, राजन भट्टराईलगायतका नेताका साथ पत्रकारसँगको भेटघाटमा सचिव पोखरेलले कृषिमा १९ प्रतिशत मात्र आधुनिकीकरण भएको र कृषिको उत्पादनले करिब ३५ प्रतिशत अर्थतन्त्र मात्रै धानेकाले मुलुक पुँजीवादमा गइसकेको भन्नु सङ्गतिपूर्ण नहुने तर्क राखेका थिए ।
यसरी छलफल गर्दा पार्टीका सम्पूर्ण सङ्गठित सदस्यले छलफलमा भाग लिन र सुझाव प्रस्तुत गर्नसक्ने व्यवस्था मिलाउने र वैशाख १५ देखि जेठ १५ सम्म दस्तावेजमाथि छलफल गर्ने र सुझाव सङ्कलन गर्ने र जेठ २० सम्ममा प्राप्त सुझावको आधारमा महाधिवेशनसमक्ष प्रस्तुत गर्ने एमालेको तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us