डलरमा पग्लिएको सार्वभौमिकता

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ८:५९ मा प्रकाशित

409322_2835768411103_1771101258_nएकजना बहुरुपी बिबादास्पद व्यक्तिले नेपालको शान्तिप्रकृया भांड्नको लागि करोडौं रकम बिदेशबाट लिएको कुरासंगै यो देशको स्वतन्त्र हैसियतमाथि नै प्रश्नचिन्ह उठ्न थालेको छ । उ लगायत उनीहरु जस्तै व्यक्तिहरुले यो देशको बिरुद्धमा संसारका कति देश वा दाताहरुबाट र यस्ता करोडौं करोड कति लिइसकेका छन्, त्यसको हिसाव न राज्यसंग छ, न उ यसबारे अनुसन्धान गर्ने हैसियत र ताकत राख्दछ ।

हामी कल्पना गर्न सक्छौं, एउटा अमेरिकी, रुसी, चीनियां, भारतीय वा अन्य कुनै देशको व्यक्तिले बिदेशीहरुबाट पैसा लिएर देशका सूचना बेच्ने वा देशको शान्ति प्रकृया वा सुरक्षाका बिरुद्ध उत्रने दुस्साहस गथ्र्यो भने उसको अबस्था के हुन्थ्यो होला ?संसारका कुनै पनि मुलुकका मान्छेहरुले आंट गर्न नसकेको काम यहांका डलरवादीहरुले गरिरहेका छन् र किन गरिरहेका छन् भने उनीहरु यहांको सरकारमा रहेका दलका शुभचिन्तक वा कार्यकर्ता मात्रै हैन, उनीहरुलाई आर्थिक सहयोग गर्ने वा जुटाइदिने अन्नदाता पनि हुन् ।

एउटा राज्यले थालेको शान्ति प्रकृया बिथोल्न त्यहि देशका केहि व्यक्तिहरु बिदेशी सरकार वा दाताहरुसंग पैसा लिएर आफ्नै देश बिरुद्ध उत्रन्छ र राज्य निरिह टुलुटुलु हेरेर बसिरहन्छ भने योभन्दा ठूलो डरलाग्दो बिषय अरु के हुनसक्छ । यस्तो देशद्रोहको अपराधलाई आफ्नो सीमाभित्र कुन चाहिं देशले क्षमा दिएको छ भनेर खोज्ने हो भने संसारभर नेपाल मात्रै यस्तो देश हो, जहां देशद्रोहीहरु अन्र्तराष्ट्रिय मानवअधिकारवादी, बरिष्ठ समाजसेवी आदिबाट सम्मानित छन् ।

सार्वभौम भनिएको संसदले कुनै कानून बनाउन लाग्यो भने उनीहरु त्यसलाई रोक्ने र आफुले भने अनुसार बनाउन सक्ने हैसियतमा रहेका छन् । एउटा देशभित्रको प्रकृयालाई भांड्नको लागि बिदेशीहरुले अकूत पैसा खन्याएर किनेका र परिचालन गरेका त्यहि देशका नागरिकहरु आज त्यहि राज्यलाई चुनौति दिने हैसियतमा रहेका छन् भने अब यो मुलुक कसको हातमा छ र हामी नेपालकै हौं कि हैनौं भनेर खोज्नुपर्ने बेला आएको छ ।

अब हाम्रो बैदिक कथाहरुमा तपस्याको ठूलै चर्चा हुने गर्दछ । जस्तो कि कुनै ऋषि वा तपस्वीले तपस्या गर्दा इन्द्रको स्वर्ग डगमगाउने गर्दथ्यो । इन्द्रले आफ्नो स्वर्ग गुम्ने डरले ती तपस्वीको तपस्या भङ्ग गर्नको लागि राम्रा राम्रा अप्सराहरु पठाएउंथे ।

ती अप्सराहरुले तपस्वीका वरपर नानाथरीका हाउभाउ गर्दै तपस्या भङ्ग गराउन लाग्थे । नाम चलेका विश्वामित्र जस्ता ऋषिहरु पनि उनीहरुको हाउभाउ र सुन्दरताबाट मोहित भएर तपस्या तोड्ने र मेनकालाई लिएर गृहस्थ जीवनमा लागेको सुन्न पाइन्छ । यसरी ती अप्सरा नाम दिइएका वेश्याहरुको नाच र र इन्द्रको स्वार्थमा धर्मको नाम जोडिएको हुन्थ्यो ।

अप्सराहरुले समेत तपस्या भङ्ग गर्न नसकेको अबस्थामा इन्द्र आफैं अघि सरेर बज्र प्रहार गरी बृत्तासुरहरुको हत्या गरेको कथा पनि पढ्न पाइन्छ । इन्द्रको स्वार्थको रक्षाको लागि वेश्याहरुको प्रयोगदेखि ब्रम्हा विष्णु महेश्वरको कार्यगत एकता र मोर्चाले पनि काम गरेको पाइन्छ । कुनै समय उनीहरु समेत हार खाएर शुम्भ निशुम्भ र महिसासुरको हत्या गर्न दुर्गा, महाकालीको शरण पर्नुपरेको कथाहरु पनि पाइन्छ ।

इन्द्रको यो कथा किन आबश्यक पर्न गयो भने, इन्द्रको स्वार्थमा धर्म जोडिए झैं अहिले ती मानव अधिकारको आवरणमा निकै सुन्दर वेश्याहरु हाम्रा अगाडि नाचिरहेका छन् । झटृ हेर्दा उनीहरु असाध्यै राम्रा छन्, उनीहरुको बोली मिठो छ । उनीहरुलाई संसारले चिनेको छ । उनीहरु हजार झुटलाई पनि सहि सावित गर्न माहिर छन् ।

उनीहरु राम्रो नाच्न सक्छन् । उनीहरु पहिला बिभिन्न महाराजाहरुका दरवारमा नाच्ने गर्दथे, जनयुद्धताका नक्कली भिडन्तमा मारिएका जनताहरुको गन्तीसंगै पेग थप्दै पिउने गर्दथे, कम्मर मर्काई मर्काई नाच्थे । हत्या, मृत्यु, अर्तनाद, चिच्चाहट र कोलाहलको भेलमा रोपाई गरेर डलर फलाउने उनीहरुलाई मानवका परिभाषा पनि फरक फरक सिकाइएका छन् ।

कसको रगत, रगत हो र कसको रगत पानी हो भन्ने कुरा उनीहरुलाई सिकाइएको छ । उनीहरु आफुलाई तोकिएको काममा इन्द्रका अप्सराभन्दा पनि इमान्दार र जेहेन्दार छन् । इन्द्रका अप्सराहरुले कैंयौं तपस्वीका तपस्या भङ्ग गर्न सकेनन् तर यी आधुनिक अप्सराहरुले आफुलाई दिएको जिम्मा निकै कुशलतापूर्वक निभाइरहेका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा सहमति बन्न थालेपछि शान्ति छाउने खतरा उत्पन्न भयो, तब यी अध्यारोमा धन्धा चलाउनेहरुमा छटपटी शुरु भएको छ । यिनीहरुलाई शान्ति, सत्य र मेलमिलाप शव्दप्रति यति ठूलो एलर्जी छ कि, यसको नाम समेत सुन्न चाहंदैनन् ।

किनकी त्यसले उनीहरुको जागिर र व्यबसाय नै बन्द हुन्छ । कुन रगत डलरमा बिक्छ र कुन रगत नालीको पानीजस्तै मूल्यहिन छ भन्ने कुरा पनि कन्ठस्थ छ । उनीहरुलाई क्रान्तिकारीहरुको रगत ठ्वास्स गन्हाउंछ र २० हात परैदेखि नाक थुन्दै हिड्छन् ।

जब मूल्यवान रगत फेला पार्छन् अनी त्यसको मार्केटिङ्ग गर्न कुनै अबेर गर्दैनन् । डलर झर्ने प्रतिक्रान्तिकारीहरुको रगतको बिज्ञापन गर्नु र त्यसको महिमा गाउनु उनीहरुको जागिर हो । उनीहरु सहयोग चाहिएमा यहांका पुराना पार्टीका तबेलामा बांधिएका वायुपङ्खी घोडाहरु देशै थर्किने गरी हिनहिनाउने गर्दछन् र यी अप्सराहरु यिनै घोडाका ढाडमा चढेर अदालतदेखि आयोगसम्म पुगेका हुन्छन् ।

यिनको डांको यति ठूलो छ कि, यिनले बोलेको हजार झुठो पनि सत्य हो भनी नाच्दै र घोक्रो फुलाएर प्रचार गरिदिने नन्दीभृङ्गीहरुको यहां लाइन लागेको हुन्छ ।
गएको बर्षदेखिफुजेल चर्चामा छ । उनीहरुले यसलाई उनीहरुको अभियानको एउटा “टेष्ट केस” को रुपमा अगाडि बढाएका छन् ।

पर्दा बाहिर अधिकारी दम्पती वा नुरप्रसाद भएपनि उनीहरु केवल उनीहरुले आफ्नो अभियानको लागि नियुक्त गरी खडा गरिएका पात्र मात्रै हुन् । जनयुद्धको क्रममा हजारौं व्यक्तिहरुले ज्यान गुमाए, कैंयौं बेपत्ता बनाइए । बार्ता चलिरहेको समयमा निसस्त्र रुपमा रहेको रामेछाप लगायतका ठाउंमा माओवादीको पूरै जिल्ला नेतृत्वलाई समातेर दनादन गोली हानेर खोलापाखामा खात लगाइयो ।

बमबर्षा गरेर पूरै गाउं ध्वस्त पारियो । शाहीसेनाको सुराकी खर्च बोकेर पुलिस र सेनालाई गाउंमा माओवादी देखाउंदै हिड्ने कांग्रेस एमालेका भाडाका टट्टुहरुले सुतिरहेका मान्छेहरुलाई हाफगञ्जी र कट्टुमै आगनमा तानेर ल्याए, बारीमा लगेर गोली हाने, घरका छोरीहरुको बलात्कार गरे, कानका ढुंग्री र घांटीका तिलहरी लुटे, छोरालाई जिउंदै लगेर अहिलेसम्म बेपत्ता बनाए ।

तर यी दलालहरुलाई त्यतातिर चासो छैन किनकी उनीहरुका नजरमा ती पीडितहरु मानव नै हैनन् र उनीहरुलाई यस्ता मान्छेहरुको पक्षमा बोल्न खटाइएको होइन । फुजेलकाण्डमा आफ्ना बाबुआमालाई मार्ने योजना सहित अनसनमा उतार्ने उनीहरुको कपुत नूरप्रसाद अधिकारीले पौने ४ करोड राज्यसंग क्षतिपूर्ति मागेको कुरा तत्कालिनसूचना तथा तथा सञ्चार मन्त्रीका प्रेस सल्लाहाकारले आफ्नो ट्वीटर र फेसबुकबाट सार्वजनिक गरिसकेको अबस्थामा यो अनसनको कर्तुत बाहिर आइसकेको छ । तर यी अधिकारको कुरा गरेर मानवताको व्यापार गरेर नाङ्गै नाच्ने यी अप्सराहरुमा थोरै लज्जा र हिनताको भाव पटक्कै देखिन्न ।
केहि उत्तेजित मानिसहरु जनयुद्धले यस्ता प्रबृत्तिका बिषालु हांगाहरु नछिमलेको कारणबाट यस्तो अबस्था आएको बताउंंछन् । तर यिनीहरु पनि बिदेशीले खटाएका पात्रहरु हुन् र उनीहरुलाई छिमलेको भए उनीहरु जस्तै नयां हांगाहरु पलाउने थिए ।

अब यदि राज्यका आंखा खोलिएका हुन् भने उनीहरुको कालो धन र कर्तुतहरुको बारेमा छानबिन गर्नुपर्दछ र बिदेशीहरुबाट रकम लिई देशका बिरुद्ध प्रयोग भएको आरोपमा उनीहरुलाई कडाभन्दा कडा कारवाही गर्नुपर्दछ । अनी राज्यले यसको आंट नगरे राज्यलाई असफल हुनबाट जोगाउनको लागि यो देशका सच्चा देशप्रेमी नागरिकहरुले यसको पहल लिनु आवश्यक भैसकेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us