
काठमाण्डु ४ वैशाख – सिँचाइ विभाग र अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी)बीच सहकार्य निरन्तरताका लागि पाँचवर्षे म्याद थप सम्झौतामा हस्ताक्षर भएको छ ।
पच्चीस वर्षदेखि सहकार्य गर्दै आएका विभाग र जल व्यवस्थापनमा प्रख्यात अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इमीले आगामी थप पाँच वर्षसम्म नेपालमा सिँचाइ र जल व्यवस्थापनका लागि तालिम, गोष्ठी र सचेतनामूलक कार्यक्रम गर्ने सहमतिमा हस्ताक्षर गरेका हुन् ।
विभागका महानिर्देशक शिवकुमार शर्मा र इमीका क्षेत्रीय निर्देशक जेरेमी वर्डले सो सम्झौतापत्रमा हस्ताक्षर गर्दै उत्कृष्ट साझेदारका रुपमा आगामी दिनमा थप उत्साहका साथ मिलेर काम गर्ने बताए ।
इमीले एसिया र अफ्रिकाका विभिन्न मुलुकमा जल व्यवस्थापनमा काम गरिरहेको छ । निर्देशक वर्डले नेपाल प्रमुख साझेदार भएको बताउँदै कृषकका हकहितमा सहयोग र सहकार्य निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरे ।