माक्र्सवादी पद्धतिमै नयाँ शक्ति निर्माण हुन्छ

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ६:२३ मा प्रकाशित

Baburamबाबुराम भट्टराई वरिष्ठ नेता, एमाओवादी

तपाईंले नयाँ शक्ति निर्माण गर्ने भन्नुभएको छ । यो कस्तोखालको शक्ति हो ?
समाज र दुनियाँ गतिशील हुन्छ । त्यसैले हामी सबै परिवर्तनसँगै नयाँ–नयाँ बन्दै जानुपर्छ । राजनीतिक पार्टी, विचार नेतृत्व पनि समयको आवश्यकताअनुसार नयाँ हुँदै जानुपर्छ । यसै सन्दर्भमा मैले नयाँ शक्ति आवश्यकताबारे औँल्याएको हुँ ।

यसको मुख्य सार भनेको ००६- ०७ देखिको नेपालको क्रान्तिकारी रूपान्तरणको आन्दोलन अहिले ०७१ सम्म आइपुग्दा एउटा चरण पार गरेको छ । पुरानो सामन्तवादी संरचना राज्यव्यवस्था मूल रूपमा नष्ट भएर समाजको तीव्र पुँजीवादीकरण भइरहेको छ ।

त्यो राजनीतिक हिसाबले पुँजीवादी क्रान्तिको एक चरण मूल रूपमा पूरा भएको मान्नुपर्छ । अब हामीले समाजवादी क्रान्तिको रणनीति बनाएर त्यसअन्तर्गत पुँजीवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै अगाडि बढ्ने योजना बनाउनुपर्छ । यो भनेको रणनीतिक सिफ्ट हो । यसले नयाँ शक्ति माग गर्छ । त्यस अर्थमा हाम्रो आन्दोलनलाई एउटा नयाँ शक्तिका रूपमा रूपान्तरण गर्नुपर्छ ।

यो शक्तिको संरचना कसरी तयार ?
पहिलो कुरा, यो ऐतिहासिक आवश्यकता हो । यो आवश्यकतालाई बोध गरेर विचारको नयाँ चरणमा विकास गर्नुपर्छ । माक्र्सवादका जुन मूलभूत मान्यता छन्, ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी पद्धति र प्रक्रियामा टेकेर समाजको वर्गविश्लेषण, विकासको चरणको मूल्यांकन गर्दै अहिलेको विश्व र नेपालको परिस्थितिसुहाउँदो माक्र्सवादको विकास एउटा पक्ष हो ।

अर्को अब समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत पुँजीवाद विकास गर्दै अगाडि बढ्ने राजनीतिक कार्यदिशा हो । हिजो नयाँ जनवादी क्रान्ति गर्ने ढाँचामा निर्माण भएको कम्युनिस्ट पार्टीलाई अब समाजवादी क्रान्ति गर्ने ढाँचामा रूपान्तरण गर्ने प्रश्न, समाजवादी क्रान्तिको आवश्यकताअनुसारको नेतृत्व र कार्यशैली विकास गर्ने प्रश्न यी मुख्य विषय हुन् ।

यसलाई केन्द्रमा राखेर नयाँ शक्ति निर्माण गर्दा पहिलो कुरा भएकै शक्ति किनकि माओवादी आन्दोलन पछिल्लो विकसित शक्ति हो । कांग्रेस, एमाले हुँदै पछिल्लो शक्ति माओवादी हो ।

त्यसैले माओवादीले नै यो नयाँ चरणको क्रान्तिको नेतृत्व गर्न आफूलाई नयाँ शक्तिमा रूपान्तरण गर्नुपर्छ । अब हामी पुरानै माओवादी भएर हुँदैन । नयाँ माओवादी बन्न सक्नुपर्छ । यसको साथसाथै कम्युनिस्ट आन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन, जनजाति आन्दोलन, महिला, दलित मुक्ति आन्दोलन, मधेस आन्दोलनलगायतका थुप्रै आन्दोलनसँग जोडिएका जुन शक्ति छन् । तिनलाई समेत साथमा लिएर नयाँ शक्ति निर्माण गर्नुपर्छ ।

पार्टीभित्रैबाट यो शक्ति निर्माण सम्भव होला त ?

हाम्रो पार्टी हिजो माओवादी बन्दाखेरी पनि त नयाँ पार्टी बनेको हो । पहिलो, ४० र ३० को दशकमा चौथो महाधिवेशन, माले, मसाल, सर्वहारा श्रमिक संगठन भन्ने विविध समूह थिए । हामी आफैँ यी संगठनमा विभक्त थियौँ । हामी आफैँले नयाँ विचार, नयाँ कार्यदिशा लिएर आफूलाई माओवादीमा रूपान्तरित गरेका थियौँ । माओवादीका रूपमा हामीले १५-२० वर्षबीचमा हामीले नयाँ आन्दोलन अगाडि बढायौँ । अबको चरणमा प्रवेश गर्दा पनि फेरि नयाँ विचारसहित आफूलाई रूपान्तरित गरेर नयाँ शक्तिमा लैजान सक्नुपर्छ । त्यो सम्भव छ । तर, यसमा सबै रूपान्तरित भएर जान्छन् भन्ने होइन तर मुख्य हिस्सालाई हामीले रूपान्तरित गरेर लैजानुपर्छ । र, नयाँ शक्तिलाई त्यसमा जोडेर अघि बढ्नुपर्छ ।

भनेपछि अहिलेको एमाओवादी विसर्जन हुन्छ होइन ?
विसर्जन होइन, रूपान्तरण हुन्छ । कुनै पनि चीजको निषेध भन्ने हुँदैन । एकता, संघर्ष र रूपान्तरण हुन्छ । ऐतिहासिक रूपमै पछाडि परेका चीज छुट्छन् । अहिलेको समयानुकूल विकसित र परिमार्जित भएर आएका वस्तु रूपान्तरित हुन्छन् । त्यसैले पुरानोको सकारात्मक पाटो र नयाँ उदय भएको शक्तिसमेतलाई जोडेर नयाँ शक्तिमा रूपान्तरण हुन्छ ।

त्यसैले यो एकता, संघर्ष र रूपान्तरणको द्वन्द्ववादी विकासको नियमअनुसार नै नयाँ शक्ति निर्माण हुन्छ । त्यसैले माओवादीले नै नयाँ शक्तिका रूपमा रूपान्तरित भएर यो प्रक्रियाको नेतृत्व गर्न सक्नुपर्छ । यो मेरो निजी विचारमात्र नभएर हाम्रो पार्टीकै विचार हो । हेटौँडा महाधिवेशनपछि हामीले जुन कार्यदिशा विकसित गरेका थियाँै, त्यसैलाई अझै विकसित र परिमार्जित गर्नुपर्छ । नयाँ शक्तिका रूपमा अगाडि बढ्नुपर्छ भन्ने हो, यो आगामी महाधिवेशनसम्म पनि छलफल हुँदै जान्छ । यसलाई विशुद्ध शास्त्रीय रूपमा भन्दा पनि देशको राजनीतिक संघर्षसँग जोडेर लिएर जान्छौँ । किनकि नयाँ संविधानसभाबाट नयाँ संविधान बन्ने काम बाँकी छ । यसले झन्डै एक वर्षको समय लिन्छ ।

यो बीचमा हामीले भित्री रूपमा वैचारिक संघर्ष पनि चलाउँदै जान्छाँै । बाहिरी रूपमा राजनीतिक संघर्षलाई पनि अगाडि बढाउँदै जान्छौँ । यसरी वैचारिक र राजनीतिक संघर्षलाई समेत जोडेर समग्र प्रक्रियालाई नयाँ शक्तिका रूपमा रूपान्तरण गर्ने हाम्रो सोच हो ।

यसले तपाईं र अध्यक्ष प्रचण्डबीचको सम्बन्ध झन् टाढा बनाउँदैन ?

यो हुँदैन । एकथरी गलत मान्छे छन्, जो कहिल्यै पनि विज्ञान, विचारमा विश्वास गर्दैनन् । खालि जो सत्तामा छ, त्यसको चाकडी, दलाली गरेर आफूले व्यक्तिगत लाभ लिने प्रयास गर्छन् । त्यस्ता मान्छेले यो बहसलाई गलत दिशातिर लैजाने प्रयास गरिरहेका छन् । यहाँ प्रचण्ड र बाबुरामको विषय होइन, यो आन्दोलनमा हामी एकता, संघर्ष र रूपान्तरण हुँदै यहाँसम्म आएका छौँ ।

आगामी दिनमा पनि आफूले आफूलाई रूपान्तरण गरेर अगाडि बढ्ने हाम्रो सोच छ । यो विषयमा क. प्रचण्ड, मेरो र नारायणकाजीबीचमा पनि बहस छलफल चलिरहेको छ । पार्टीबाहिर वैद्य समूहमा भएका साथी र एमालेका साथी र अन्य वामपन्थी शक्तिसँग र मधेसी, जनजातिलगायतका शक्तिहरूसँग पनि बहस र छलफल चलाउँदै अगाडि जाने हाम्रो सोच छ । तर, कतिपय मान्छेले आफ्नो स्वार्थको रोटी सेकाउन यो बहसलाई अस्वस्थ ढंगले लैजान खोजेका छन् । त्यो भ्रममा हामी पर्नुहुँदैन ।

भनेपछि कम्युनिस्टमात्र नभएर समाजवादी नारा लिएका सबै यसमा अट्ने भए होइन ?

माक्र्सवाद भनेको ऐतिहासिक भौतिकवादी तरिकाले संसारको व्याख्या गर्दै अगाडि बढ्ने एउटा विज्ञान हो । त्यो शाश्वत सार्वभौम कुरा हो । अरू कुरा भनेका कस्तो ढंगको पार्टी बनाउने, कस्तो ढंगको सत्ता बनाउने भन्ने कुरा समयको आवश्यकताअनुसार विकसित गरेर जाने कुरा हो ।

त्यसैले अरू सबै कुरामा लचिलो हुँदै मुख्यतः द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद पद्धति जो माक्र्सवादको गुदी कुरा हो, त्यसलाई समात्दै अन्य कुनै विकसित गरेर जाने अर्थमा सबैलाई समेट्नुपर्छ भन्ने मेरो आसय हो । यसको अर्थ फेरि माक्र्सवादको पद्धतिलाई छाड्ने भन्ने होइन, माक्र्सवादी पद्धति, प्रणाली र विज्ञानमा टेकेरै अन्य शक्तिलाई समेत समावेश गर्दै नयाँ शक्ति निर्माण गर्ने मेरो सोच हो ।

नयाँ शक्तिलाई कतिपयले भारतको आम आद्मी पार्टीसँग पनि जोडेर हेर्न थालेका छन् । के त्यसैको नक्कल हो त यो ?
यसलाई त्योसँग दाँज्ने मान्छेको म टिप्पणी गर्न चाहन्न । हाम्रो आन्दोलन मेरो आफ्नो पृष्ठभूमि हेर्नुहुन्छ भने ४० वर्षदेखि यति ठूलो युगान्तकारी आन्दोलनमा संलग्न हुँदै आएको छु ।

महत्वपूर्ण जिम्मेवारी पनि सम्हालिसकेको मान्छे मलाई अहिले भर्खरै संसारको कुनै ठाउँमा भुल्काजस्ता आएका क्षणिक विचार र शक्तिसँग जोडेर त्यही हो भन्नु, त्यो सोच्ने मान्छेको चिन्तन र स्तरको कुरा हो ।

यसलाई टिप्पणी गर्न मैले आवश्यक ठान्दिनँ । मैले भन्न खोजेको नेपाली समाजलाई रूपान्तरण गर्दै जुन बिन्दुसम्म हामीले ल्यायौँ, संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पु¥यायौँ । अब योभन्दा अगाडि लिएर जान हामीले आफैँलाई रूपान्तरण गरेर नयाँ शक्तिमा बदल्नुपर्छ । हामीमात्र होइन, हामीभन्दा बाहिर रहेका अन्य जुन राजनीतिक समूह, शक्ति र स्वतन्त्र व्यक्ति, आमजनतालाई समेटेर यो शक्ति विकास गर्नुपर्छ भन्ने मेरो मान्यता र विश्वास हो ।

नेपालका राजनीतिक शक्तिहरू असफल भए भन्ने निष्कर्षसहित हो त यो नयाँ शक्ति निर्माण ?
यसरी बुझ्नुहुँदैन । यो बुझाइ ठीक भएन । हामी क्रान्तिको नयाँ चरणमा प्रवेश गरिसक्यौँ । इतिहासमा हिजो राणाकाल थियो, त्यहाँ लड्दा अहिलेको चेतना भइदिएको भए हुन्थ्यो भनेर हुँदैन ।

हिजो लखन थापामगरहरूले मनकामना माईकै दुहाइ दिएर जुन विद्रोह गरे त्यतिबेला त्यही गर्नुपथ्र्याे । त्यतिबेलाको चेतनाले त्यही भन्थ्यो । लखन थापामगरलाई अहिलेको चेतनामा आइदिएको भए हुन्थ्यो भन्न सुहाउँदैन । पछि ००७ देखि अहिलेसम्म जुन ढंगको आन्दोलन भयो त्यही विकासको सापेक्षतामा भयो, त्यही ढंगका पार्टी र नेतृत्व भए ।

अब हामी पुँजीवादी क्रान्तिलाई मूल रूपमा सम्पन्न गरेर समाजवादी क्रान्तिको चरणमा प्रवेश ग¥यौँ । यो नयाँ चरणले नयाँ चीज माग गर्छ । सफलता असफलता भन्ने कुरै होइन । हिजोका चरणमा उनीहरू सफलै थिए ।

बीचको चरणमा हामी पनि सफल भएकै हो । तर, आजको चरणमा हामी आफूलाई नयाँ बनाउनुपर्छ । बाजेले घिउ खाएका थिए मेरो हात सुँघ त भनेर अब हुँदैन । त्यसैले हामी सबै नयाँ शक्तिमा रूपान्तरित हुने, हामी जो सक्छौँ रूपान्तरित हुने र नयाँ जो शक्ति उदय भएर आएका छन् तिनलाई समेत लिएर अगाडि बढ्नुपर्छ ।
तपाईंले नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भएको निष्कर्ष निकाल्नुभयो । यो सम्पन्न भए भन्ने आधार के छन् ?
कुनै पनि सामाजिक उत्पादन प्रणाली निरन्तर गतिमा हुन्छ । उत्पादक शक्ति र उत्पादनसम्बन्धको संयोजनले उत्पादन प्रणाली बन्छ । त्यसमा कहिले उत्पादनसम्बन्ध अगाडि बढ्छ उत्पादक शक्ति पछाडि पर्छ । कहिले उत्पादक शक्ति अगाडि–अगाडि बढ्छ उत्पादनसम्बन्ध पछाडि पर्छ । त्यसले अन्तरविरोध हुन्छ । त्यो अन्तरविरोधको हल गर्ने विधि नै क्रान्ति हो । यसरी नयाँ बन्ने उत्पादन प्रणालीले पुरानो उत्पादन प्रणालीलाई मूल रूपमा निषेध गरेर अथवा रूपान्तरण गरेर त्यो अगाडि आएको हुन्छ । त्यसरी रूपान्तरित जुन नयाँ प्रणाली हुन्छ, त्यसमा पुरानो प्रणालीका केही अवशेष रहिरहेका हुन्छन् । अवशेष रहेका छन् भन्नुको अर्थ त्यो प्रणाली पुरानै छ भन्ने अर्थ हुँदैन । मूल रूपमा उत्पादन शक्ति र उत्पादनसम्बन्ध नयाँ भयो कि भएन भन्ने आधारमा समाज नयाँ चरणमा पुग्यो कि पुगेन भन्ने टुंगो लाग्छ ।

यसरी हेर्दा नेपालको अहिलेको उत्पादनसम्बन्ध र उत्पादक शक्ति हिजोकै सामन्तवादी चरणमा मात्र छैन । सामन्तवादका अवशेष छन् । खासगरी भूमि सम्बन्धमा अहिले पनि कतिपय ठाउँमा पुरानै सामन्ती सम्बन्ध छन् । सामाजिक, सांस्कृतिक सम्बन्ध दलित, महिलामाथि उत्पीडनका रूपहरू छन् । ती सामन्तवादी अवशेष हुन् ।

तर, समग्र देशलाई नै गति दिने अर्थतन्त्रको स्वरूप हेर्दा मूलभूत रूपमा पुँजीवादीकरण भएको छ । कृषि, पर्यटन, उद्योगलगायत विभिन्न क्षेत्र तथा गाउँमा पनि पुँजीवादी सम्बन्ध विस्तारित भएको छ । राज्यको स्वरूप चरित्र पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता भनेको पनि पुँजीवादी राजनीतिक स्वरूप नै हुन् । राज्यको आय–व्ययको हिसाब हेर्दा पनि त्यसमा मूल रूपमा हिजोका कृषिजन्य उत्पादनसम्बन्धभन्दा उद्योग व्यवसाय, व्यापार आदिबाट आएको आम्दानी खर्चको मात्रा अत्यधिक मात्रामा बढेको छ । यी सबै चीजलाई जोड्दा नेपाली समाजको मूल रूपमा पुँजीवादी रूपान्तरण भएको छ । तर, त्यसमा सामन्तवादका अवशेष छन् । त्यसैले हामी यो बदलिएको स्वरूपअनुसार नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ ।

नयाँ शक्ति निर्माणको बहसले मूर्त रूप कहिले पाउँछ ?

अहिले वैचारिक ढंगले यो अगाडि बढ्छ । त्यो सँगसँगै जुन राजनीतिक संघर्ष संविधानसभाबाट संविधान बनाउने प्रश्न छ त्योसँग पनि जोडेर यो जानुपर्छ । त्योभन्दा अलग रहेर बहस चलाइयो भने त्यो किताबी बहसमात्र हुन्छ । त्यसैले वैचारिक र राजनीतिक संघर्षसँगै जोडेर लगेरमात्र नयाँ चीज विकास हुन्छ । त्यसैले यो राजनीतिक प्रक्रिया अघि बढ्ने क्रमसँगै वैचारिक बहस पनि सँगै अगाडि बढ्छ । कुनै बिन्दुमा पुगेपछि यसले गुणात्मक फड्को मार्छ । यो नयाँ शक्ति निर्माणको बहसलाई सकारात्मक ढंगले लिएर जान मैले सबैसँग आग्रह गर्छु ।

समयबोध राष्ट्रिय मासिकबाट साभार

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us