
काठमाण्डु, ४ बैशाख – केन्द्रीय रक्तसञ्चार केन्द्रबाट पाँच सय २५ रुपैयाँ तिरेर लगेको रगतलाई धापासीस्थित ग्राण्डी अस्पतालले पाँच घण्टापछि १४ सय ५० रुपैयाँमा बिक्री गरेको छ ।
अस्पतालले अर्को दिनका लागि भन्दै २२ चैतको राति ९ बजे लगेको दुई पिन्ट होलब्लड पाटन अस्पतालमा उपचार गराइरहेकी अंशु थापाका आफन्तालाई प्रतिपिन्ट १४ सय ५० रुपैयाँका दरले बिक्री गरेको हो ।
बिरामीका आफन्तले २३ चैतको बिहान २ बजे ग्राण्डीबाट लगेको दुई पिन्ट रगतलाई दुई हजार नौं सय रुपैयाँ तिरेको बिल प्राप्त भएको छ । २२ चैतको बेलुकी साधारण रुपमा सुत्केरी भएकी धादिङकी अंशु थापाको चार घण्टापछि एकाएक रक्तस्राव भयो ।
अस्पतालले उनका आफन्तलाई तत्काल उनको ब्लड ग्रुप ए नेगेटिभको चार पिन्ट रगत ल्याउन भन्यो ।
त्यसपछि अंशुका श्रीमान् होमबहादुर श्रेष्ठसहितका आफन्त राति १२ बजेदेखि रगतको खोजीमा लागे । केन्द्रमा रगत नभएपछि ग्राण्डीमा छ भन्ने थाहा पाएर श्रेष्ठ त्यहाँ पुगेका थिए । ग्राण्डीले चर्को मुल्यको बिल काटेर रगत थमाइदिएको उनले बताए ।
अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले बढी मूल्य लिएकोबारेमा विस्तृत जानकारी दिन नसक्ने बताए । उनले आफूले सम्बन्धित कर्मचारीसँग बुझेर मात्रै भन्ने बताए ।