प्रधानमन्त्री नै भन्छन्, ‘फुजेल घटनामा मुद्धा चलाइएका सबै निर्दोष’

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख–  प्रधानमन्त्री सुशील कोइरालाले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा मुद्दा दायर गरिएका सबै निर्दोष रहेको बताएका sushil koiralaछन् ।
एकीकृत माओवादीले संसद् अवरुद्ध गरेपछि सभाध्यक्ष सुवास नेम्वाङको पहलमा संविधानसभा भवन नयाँबानेश्वरमा बुधबार बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा उनले यस्तो बताएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार उनले अन्तर्राष्ट्रिय दबाब थेग्न नसकेर उनीहरुविरुद्ध मुद्दा चलाइएको बताएका थिए ।

अधिकारी हत्यामा संलग्न रहेको आरोपमा चितवन प्रहरीले केही दिनअघि जिल्ला अदालतमा सर्वस्वहरणसहित जन्मकैद सजाय माग गर्दै अभियोगपत्र दायर गरेको थियो ।

‘फुजेल हत्यामा मुद्धा चलाइएका सबै निर्दोष हुन्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एकीकृत माओवादी नेता रामनारायण बिडारीले काठमाण्डु टुडेसँग भने, ‘अन्तर्राष्ट्रिय समुदायको दबाबका कारण मुद्धा चलाउन सरकार बाध्य भएको हो, मेरो बाध्यता बुझिदिनुपर्‍यो ।’

पक्राउ परेका र मुद्धा दायर गरिएकाहरु अधिकारी हत्यामा संलग्न रहेको बलियो प्रमाण नरहेका कारण अदालतले छोड्ने भन्दै उनले संसद् अवरुद्ध नगर्न माओवादी नेतृत्वलाई आग्रह गरेका थिए ।

कोइरालाले फुजेल घटनाबारे अदालतको  निर्णय पर्खन आग्रह गर्दै द्वन्द्वकालका अन्य घटना सम्बन्धमा पूरानै फौजदारी कानुनअनुसार मुद्धा दायर नगर्ने प्रतिबद्धता बैठकमा गरेका थिए ।

माओवादीले मुद्धा फिर्ताका लागि गरेको आग्रह अस्वीकार गरेका प्रधानमन्त्रीले हाल अदालतले हेरिरहेका मुद्धासमेत सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्रभित्र पार्न भने आफू तयार रहेको बताएको बिडारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us