
विराटनगर, २ वैशाख– मोरङ प्रहरीले जिल्लाको मधुमल्ला गाविस–५ स्थित नमुना प्राथमिक विद्यालयबाट ठूलो संख्यामा हतियार र ठोलीगठ्ठा बरामद गरेको छ ।
निर्माणाधिन शौचालयको सेफ्टीट्याङकीमा लुकाइ राखेको अवस्थामा ती हतियार भेटिएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले विद्यालयको निर्माणधीन शौचालयको सेफ्टी ट्याङ्कीबाट ती हतियार बरामद भएको बताए ।
उनका अनुसार दुई थान एसएलआर, १ सय २७ थान डेटोनेटर, १६ वटा एम– १६ राइफलका गोली, ५ थान एलएमीका गोली, ४ थान बम पडकाउन प्रयोग हुने इलेक्ट्रोनिक फ्ल्यास, ५ वटा भेरीलाइटका काँटी र ७७ वटा गोलीका खोका बरामद भएको हो ।
प्रहरीले स्थानीय केटाकेटीले गोलीका खोका खेलाएको सूचना पाएपछि उक्त क्षेत्रमा खानतलासी गरेको थियो । प्रहरीसँगै नेपाली सेनाको टोली पनि घटनास्थल पुगेको थियो । प्रहरीले ती हतियार युद्धकालीन समयमा लुकाएर राखिएको हुनसक्ने आशंका गरेको छ ।