माओवादी शीर्ष नेतालाई पक्राउ गर्न चुनौती

काठमाण्डु टुडे २०७१ वैशाख १ गते १३:०१ मा प्रकाशित

चितवन, १ वैशाख – गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका आरोपितका परिवारले द्वन्द्वको नेतृत्व गरेर हिँडेका तत्कालीन नेकपा माओवादीका शीर्ष नेताहरूलाई पक्राउ गर्न चुनौती दिएका छन् ।

भरतपुरमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरूले शीर्ष नेतालाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका हुन् । आफूहरूमाथि अनुसन्धानको बिल्ला भिराउँदै अन्याय गरेको उनीहरूको भनाइ छ ।

नेकपा माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी यमबहादुर परियार र नेता सुदर्शन पौडेल जिल्लामै भएपनि सरकारले नदेखेजस्तै गरी अन्य निर्दाेष व्यक्तिलाई पक्राउ गरेको उनीहरूको आरोप छ ।

घटनाका सम्बन्धमा पार्टीले पनि केही नबोलेको भन्दै अहिले राज्य र माओवादी दुवैको चपेटामा आफूहरू परेको २५ दिन हिरासतमा बसेपछि रिहा हुनुभएका परशुराम पौडलले बताए ।

सरकारले तत्काल घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने उनीहरूको माग छ । आफूहरूले न्याय पाउने ठाउँ कतै नपाएको उनीहरूले बताएका छन् । मानवअधिकारकर्मीले पनि आफूहरूलाई बेवास्ता गरेको बताउँदै उनीहरूले न्याय नपाए सामूहिक आत्मदाह गर्ने चेतावनीसमेत दिएका छन् ।

गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले हिजो जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर गरेको छ ।

अभियोगपत्रमा १३ जनालाई सर्वस्वसहित जन्मकैदको माग गरिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरेर प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला न्यायाधिवक्ता एकनारायण लम्सालले हिजो जिल्ला अदालत चितवनमा १३ जनाविरुद्ध अभियोगपत्र दायर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले सोही घटनाका आरोपित फुजेल–७ का छविलाल पौडेल र रत्ननगर नगरपालिका–११ जिरौनाका भिमसेन पौडेललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

गोरखा फुजेलका कृष्ण अधिकारीको सशस्त्र सङ्घर्Èका बेला २०६१ साल जेठ २४ गते पूर्वी चितवन रत्ननगरमा अपहरणपछि हत्या भएको थियो । छोराको हत्यारालाई कारबाहीको माग गर्दै कृष्णप्रसाद अधिकारी दम्पती विगत लामो समयदेखि राजधानीमा आमरण अनसनमा बसेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us