
काठमाण्डु, १ वैशाख – नेपाली काँग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा सभासद्हरुलाई केही दिनअघि मात्र संसदमा प्रस्तुत भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयकमा आममाफीको व्यवस्था भएको भन्ने हल्ला व्यर्थ भएको जानकारी गराएको छ ।
काँग्रेस केन्द्रीय समिति तथा संसदीय दलको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य तथा पदाधिकारीले सो जानकारी गराएको केन्द्रीय सदस्य एवम् प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताए ।
दुवै विधेयकका सम्बन्धमा केन्द्रीय सदस्य एवम् सभासदलाई वस्तुगत अवस्था, भावना र उद्देश्यका बारेमा जानकारी गराउँदै काँग्रेसले विधेयक विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र सर्वोच्च अदालतले दिएको निर्देशनबमोजिम नै ल्याइएको स्पष्ट पारेको छ ।
विधयेकमा बाहिर मिडियामा आएको आममाफीको हल्ला व्यर्थ भएको भन्दै विधेयकमा पीडकले आफ्नो अपराध स्वीकार गरिसकेपछि पीडित पक्षको सहमति र सन्तुष्टिले मात्र आममाफी दिनसक्ने प्रावधान भएको प्रवक्ता बडूले जानकारी दिए ।
बैठकमा निश्चित न्यायिक प्रक्रियामा गइसकेपछि विधेयकले विगतको सशस्त्र द्वन्द्वका विषयलाई मेलमिलापमा परिणत गर्ने र गम्भीर प्रकृतिको अपराधमा मुछिएकालाई कानुनी कारबाहीे गर्न सक्ने प्रावधान भएकाले केन्द्रीय सदस्य तथा सभासदहरुलाई बाहिर आएका हल्लाका पछि नलाग्न समेत आग्रह गरिएको थियो ।
बैठकमा नयाँ वर्षको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।