मुलुक निर्माणमा सबै जुटौँ : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ वैशाख १ गते १२:१७ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, १ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रै संविधान निर्माण गरी मुलुकको आर्थिक समृद्धिका लागि जुट्न आग्रह गरेका छन् ।

पशुपति क्षेत्र परिसरमा अत्याधुनिक प्रसादी भोजनगृह ‘माधवराज सुमार्गी स्मृति भवन’ को उद्घाटन गर्दै कोइरालाले भने, ‘एक वर्षभित्रै संविधान आउँछ, सबै पार्टी प्रतिबद्ध बनौं, शान्ति, स्थायित्व र लोकतान्त्रिक संविधान निर्माणका लागि सबै लागि परौँ, संविधान निर्माणपछि मुलुकले आगामी १० वर्षभित्र ठूलो फड्को मार्नेछ ।’

प्रधानमन्त्री कोइरालाले जुनसुकै परिवर्तन र व्यवस्थामा पनि धर्मको लोप हुन नसक्ने बताउँदै धर्म र अध्यात्मका गुणलाई सम्मिश्रण गर्न सकिए नेपाली राजनीतिले नयाँ उचाई लिने बताए ।

प्रधानमन्त्री कोइरालाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले धनी भएर पनि पद्धतिको अभावमा मुलुकमा विकासले गति नसकेको उल्लेख गरे ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीतिक संक्रमणलाई अन्त्य गरी शान्ति र समृद्धिका निम्ति संविधान निर्माणको प्रक्रियालाई टुङ्ग्याएर सम्पूर्ण तागत आर्थिक विकासमा लगाउनुपर्ने बताए ।

‘युगान्तकारी परिवर्तनलाई संस्थागत गर्न संविधान निर्माण प्रक्रियामा छाँै, छिट्टै यसलाई पूर्णता दिएर आर्थिक समृद्धिको बाटोमा सबै जुट्नुपर्छ’ उनले भने ।

यस्तै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई संक्रमणबाट निकास दिएर छिटो आर्थिक समृद्धिको बाटोमा लैजान सबै राजनीतिक दलबीच सहकार्य हुनुपर्ने बताए ।

पुरातात्विक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गरी तिनलाई पर्यटन प्रवद्र्धनमा उपयोग गर्नुपर्ने उनको धारणा छ ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्दै धार्मिक पर्यटनको प्रवद्र्धन गर्नुपर्ने बताए ।

समाजसेवी डा. उपेन्द्र महतोले आमनेपाली जनतामा देशभक्तिको भावना आएपछि मात्र देश समृद्ध बन्ने बताए ।

श्रीमुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्यले धार्मिक देवस्थल र मठमन्दिरलाई बेवास्ता गरेर मुलुकको आर्थिक समृद्धि हुन नसक्ने बताए ।

माधवराज सुमार्गी स्मृति प्रतिष्ठानका अध्यक्ष अजयराज सुमार्गी (पराजुली) ले परम्परागत धर्म संस्कारलाई आधुनिकतासँग जोडेर लैजानुपर्नेमा जोड दिए ।

सो अवसरमा माधवराज प्रतिष्ठानले पशुपति क्षेत्र परिसरमा निर्माण गरेको प्रसादी भोजनगृह ‘माधवराज सुमार्गी स्मृति भवन’ पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको थियो ।

प्रधानमन्त्री कोइरालाले भोजनगृहको साँचो पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनलाई हस्तान्तरण गरे । भवन परिसरको शिलालेखको पनि प्रधानमन्त्री कोइरालाले अनावरण गरेका थिए ।

कोषको करिब छ रोपनी क्षेत्रफलमा झण्डै सात करोडको लागतमा निर्मित स्मृति भवनमा ५०० जना सिट क्षमताको सभाहल तथा अर्को थप अढाई सय गरी एक हजारजना बस्न सक्ने क्षमताको हल बनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us