विर्तामोडमा रक्तसञ्चार सेवाको शुभारम्भ

काठमाण्डु टुडे २०७१ वैशाख १ गते १०:२३ मा प्रकाशित

भद्रपुर, १ वैशाख – मानवीय सेवाका लागि तत्काल रगत उपलब्ध गराउन झापाको विर्तामोडमा नयाँ वर्षको आगमनसँगै आजबाट रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

चारपाने–१ स्थित पञ्चकन्यामा निर्मित रक्तसञ्चार (ब्लड बैंक) भवनबाट रक्तसञ्चार सेवा सञ्चालनमा ल्याइएको हो ।

नेपाल रेडक्रस सोसाइटी, झापाका सभापति लोकराज ढकालसहितका समाजसेवीहरुले सामुहिक रुपमा उक्त रक्तसञ्चार सेवा केन्द्रको शुभारम्भ गरे ।

नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा अनारमनी (विर्तामोड)को संयुक्त पहलमा चारपाने–१ स्थित देवी पञ्चकन्या ल्याण्ड एण्ड हाउजिङ प्रालिले निःशुल्क प्रदान गरेको १२ धुर जग्गामा रु ४० लाखको लागतमा तीनतले भवन निर्माण गरी रक्तसञ्चार सेवा सुभारम्भ गरिएको रेडक्रस उपशाखा विर्तामोडका उपसचिव एकराज गिरीले जानकारी दिए ।

यसअघि भद्रपुर र दमकमा रक्तसञ्चार सेवा सञ्चालनमा रहेको र विर्तामोडमा आजदेखि सेवा सुरु भएपछि झापा जिल्लामा रक्तसञ्चार केन्द्रको सङ्ख्या तीन पुगेको छ ।

सो अवसरमा लायन्स क्लब अफ विर्तामोडले रक्तदान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us