रसुवा, १ वैशाख – लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत धुन्चे गाविसको ब्राबलपाखामा सोमबार बिहानदेखि लागेको डढेलोले सयौँ हेक्टर वनजङ्गल नष्ट बनाएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पासाङ ल्हामुका अनुसार करिब सात आठ सय हेक्टर वन जङ्गलमा डढेलो लागिसकेको र नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल आगो नियन्त्रणमा जुटेका छन् ।
कार्यालयभन्दा केही तल पाखोमा आगलागी भएको हो । सो जङ्गलमा भालु, बँदेल, मृगलगायत जनावरको बासस्थान छ ।
आगो नियन्त्रण गर्न हावाहुरी र भिरपाखोका कारण गाह्रो भइरहेको र नियन्त्रणको प्रयास भने हजारौँ जनशक्तिबाट भइरहेको निकुञ्ज प्रमुख वेदकुमार ढकालले बताए । क्षतिको यकिन विवरण आइसकेको छैन ।