गुठी समस्या समाधान गर्न माग

काठमाण्डु टुडे २०७१ वैशाख १ गते ८:३९ मा प्रकाशित

नुवाकोट, १ वैशाख – लच्याङका गुठी पीडितले समस्या समाधानको माग गर्दैै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

वर्षौंदेखि भैरवी मन्दिरका नाममा रहेको गुठी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीले उक्त जग्गा रैकरमा परिणत गराउनका लागि पहल गरिदिन माग गरेका हुन् । छ सय ६२ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्रमा भैरवीको रथ बोक्ने कामबाट छुट्कारा दिन पनि माग गरिएको छ । चैत शुक्ल पूर्णिमा लाग्ने सिन्दुर जात्राका अवसरमा नुवाकोटबाट देवीघाट र देवीघाटबाट फेरि नुवाकोटमा रथ बोक्ने काम लच्याङका तामाङ समुदायले गर्दै आएका छन् । सोही रथ बोकेबापत उनीहरुले भैरवीको नाममा रहेको गुठीको जग्गा कमाउँदै आएका हुन् ।

विसं २०४१ मा रैकरसरह पुर्जा वितरण भइसकेको भए पनि वडा नं १, ३, ४, ५, ६, ७ र ८ को जग्गा अहिले पनि भैरवीका नाममा रहेकाले रथ बोक्ने काम पनि यथावत् भई उक्त कामबाट अलग गराउन माग गरिएको छ । ज्ञापनपत्रमा गुठी संस्थानले वैशाख पूर्णिमा जात्रामा रथ बोक्ने कामका लागि आवश्यक रकमको व्यवस्था गरी उक्त कामबाट लच्याङका मानिसलाई अलग गराउनुपर्ने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतलाई बुझाइएको ज्ञापन पत्रमा माग कार्यान्वयन नभए सङ्घर्षको कार्यक्रम गर्ने समेत जनाइएको छ । स्थानीयवासीले इमानसिंह तामाङको संयोजकत्वमा सङ्घर्ष समिति पनि गठन गरेका छन् । पूर्णिमाको जात्रा लाग्नुभन्दा दुई दिनअघि उनीहरुले माग जिप्रकामा बुझाएका हुन् । मङ्गलबारदेखि देवीघाट र नुवाकोट बजारसमा सिन्दुरे जात्रा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने सो जात्रामा रथ बोक्ने काम लच्याङका बासिन्दाले गर्ने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us