विराटनगर, १ वैशाख – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सरकारले सबै दलको सहमतिमा चाँडै नै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकाय निर्वाचनबाट संविधान लेखनमा सहज हुने धारणा व्यक्त गरे ।
मन्त्री रिजालले स्थानीय निकाय निर्वाचनबाट चुनिने एक लाख ८० हजार जनप्रतिनिधिबाट अवरुद्ध विकास निर्माणको कार्य सुचारु भई ग्रामीण क्षेत्रका जनताको आर्थिक जीवनस्तर वृद्धि हुने बताए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री डा रिजालले सहमतिबाट संविधानसभा समिति निर्माणपश्चात नै २६ जना सभासद् मनोनितको टुङ्गो लाग्ने बताए ।
मन्त्री डा रिजालले मनोनित सभासद्मा सञ्चारकर्मी ल्याउन विशेष पहल गर्ने बताए। एक प्रश्नको जवाफमा मन्त्री डा रिजालले राष्ट्रपति, उपराष्ट्रपतिले दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै नेपाली काँग्रेसले सहमतिअनुसार उनीहरुको पद चाँडै नै संविधानसभाबाट औपचारिकरुपमा अनुमोदित गराउने उल्लेख गरे ।
रिजालले नेकपा एमालेको आग्रहअनुसार नै उपनिर्वाचनको मिति असारमा तोकिएको जानकारीसमेत दिएका छन् ।