
रत्ननगर, १ वैशाख– पूर्वी चितवनको खैरहनीमा दुईवटा ट्रान्सफर्मर पड्किएर विद्युत् अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
पाँच दिनअघि खैरहनीमा पड्किएको ट्रान्सफर्मर मर्मत नहुँदै पुन:आइतबार अर्काे पड्किएपछि स्थानीयवासी थप मारमा परेका हुन् । पटकपटक विद्युत् कार्यालयमा जानकारी गराउादासमेत मर्मत नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
उनीहरुले खैरहनीको उपशाखामा धर्ना दिएका छन् । सो क्रममा स्थानीयसँग आजसम्ममा मर्मत गरेर ट्रान्सफर्मर जडान गर्ने आश्वासन प्राधिकरणले दिएको छ ।
विद्युत् अवरुद्ध हुँदा खैरहनी–७, ८ लगायत विभिन्न क्षेत्रका सयौं परिवार पीडित बनेका छन् ।
प्राधिकरणले विद्युत् भार थेग्न नसकेर पड्किएको बताएको छ । चितवनमा पछिल्लो समयमा ट्रान्सफर्मर चोरीका घटनासमेत बढिरहेको विद्युत् कार्यालयले जनाएको छ । रासस