
दार्चुला, १ वैशाख- भारतीय पक्षले एकलौटी रुपमा महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणको कार्य तीव्र पारेको छ ।
गत असार पहिलो साता महाकालीको विनासकारी बाढीपछि क्षतिग्रस्त क्षेत्रमा भारतीय पक्षले पक्की तटबन्ध निर्माणको कार्य तीव्र पारेको हो ।
दुई महिनाअघि दार्चुला सदरमुकाम खलंगाको वीरेन्द्र वन सामुन्ने आफ्नो क्षेत्रमा तटबन्ध निर्माण गर्न थालेको भारतीय पक्षले जिल्लास्थित सञ्चारकर्मीले स्थानीय र राष्ट्रिय सञ्चारमाध्यमबाट समाचार प्रसारण/प्रकाशन गरेपछि निर्माणकार्य बन्द गरेको थियो ।
फेरि भारतीय पक्षले अहिले खलंगा गाविस वडा नं १ खेट्टेबगडको सामुन्ने धारचुलाको गोठी भन्ने ठाउँमा पक्की तटबन्ध निर्माणको कार्य तीव्र रुपमा अघि बढाएको छ ।
खेट्टेबगडका स्थानीय युवा पदमराज भट्टले भारतीय पक्षले महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको जिल्लास्थित सञ्चारकर्मीलाई जानकारी दिएपछि सञ्चारकर्मी सो क्षेत्रमा पुगेका थिए ।
दार्चुलाका पत्रकारहरु सो क्षेत्रमा पुग्दा भारतीय पक्षले गोठी भन्ने ठाउँमा तटबन्ध निर्माणका लागी तीनवटा डोजर प्रयोग गरेको पाइयो ।
नेपाली पत्रकारहरुले सो क्षेत्रमा भारतीय पक्षले तटबन्ध निर्माण सुरु गर्न थालेको दृश्य क्यामेरामा कैद गर्न खोज्दा निर्माण कार्यमा संलग्न मजदुरहरु औला ठड्याउने र सिठ्ठी बजाएर रिर्पोटिङ नगर्न आग्रह गर्दै थिए ।
खेट्टेबडका स्थानीय पदमराज भट्टका अनुसार भारतीय पक्षले सो क्षेत्रमा तटबन्ध निर्माणको काम सुरु गरेको एक हप्ता हुन लागेको छ । भारतीय पक्षले डोजर प्रयोग गरी तटबन्ध निर्माणका लागी खोदान गर्ने कार्य सुरु गरेको छ ।
करिब पाँचसय मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्ने भारतीय पक्षले तयारी गरेको छ । भारतीय पक्षले एकलौटी रुपमा तटबन्ध निर्माणको काम जोडतोडका साथ गरिरहेको हेर्न बाध्य छन् खलंगा–१ खेट्टेबडका स्थानीय ।
सो क्षेत्रमा महाकाली नदि किनार भएर नेपाल–भारतको सडक सञ्चालनमा छ । नेपाली सडक मार्ग भएर खेट्टबगड क्षेत्र भएर आवत–जावत गर्नेहरुको नजर भारतीय पक्षले थालेको उक्त काममा पर्ने गरेको भए पनि अहिलेसम्म सबै मौन बसेका छन् ।
भारतीय पक्षले एकलौटी रुपमा तटबन्ध निर्माणको काम सुरु गरेको स्थानीय प्रशासनले समेत थाहा नपाएको बताएको छ । सञ्चारकर्मीमार्फत आइतबार मात्रै सो कुरा थाहा पाएको र स्थानीयबासीले जानकारी नदिएको निमित्त प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताए ।
मंगलबार भारको पिथौरागढमा भारतीय सुरक्षा अधिकारीहरुले एउटा बैठक राखेको र उक्त बैठकमा दार्चुलाका सुरक्षा अधिकारीहरुलाई पनि आमन्त्रण गरिएकाले तटबन्ध निर्माणबारे बैठकमा कुरा राख्ने निमित्त प्रजिअ जोशीले बताए ।
गत असार पहिलो साता महाकालीको बिनासकारी बाढिले खेट्टेबगडमा मात्र करिब ६० रोपनी जमिन बगाएको थियो । भारतीय पक्षले एकलौटीरुपमा तटबन्ध निर्माण गरिरहेको अवस्थामा नेपाली पक्षले कुनै प्रतिक्रिया नदिने हो र यसलाई बन्द नगराउने हो भने आउँदो वर्षादमा नेपालतर्फ बाँकी रहेको भूभाग पूर्णरुपमा महाकालीले बगाउने खतरा बढेको छ ।