
काठमाण्डु, ३० चैत– एकीकृत माओवादी सम्वद्ध अखिल नेपाल शिक्षक संगठनले संसद बैठकमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका शिक्षकहरुलाई रिहा गर्न माग गरेको छ ।
संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्नो संगठनका केन्द्रीय सदस्य एवम् अस्थायी शिक्षक संघर्ष समितिका महासचिव दिनेश थापासहित आठ जनालाई तत्काल रिहाइको माग गरेको हो ।
पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष रत्नबहादुर ओलीले पक्राउ परेका शिक्षकहरुलाई तत्काल नछाडे कडा संघर्षमा उत्रने चेतावनी दिए । गत चैत २७ गते संसद बैठक चलिरहेका बेला दर्शक दीर्घामा बसेका शिक्षकहरुले नाराबाजी गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।
नेपालको संसदीय इतिहासमै दर्शक दीर्घाबाट नाराबाजी भएको यो पहिलो पटक हो ।