
काठमाण्डु, ३० चैत– प्रमुख दलबीच भागबण्डामा कुरा नमिलेपछि व्यवस्थापिका–संसदका विभिन्न समितिको सभापति चयन प्रक्रिया अवरुद्ध भएको छ ।
। दलहरुबीच कुरा मिल्न जुटन नसक्दा संविधानसभाअन्तर्गतको राजनीतिक संवाद तथा सहमति समितिको सभापति चयनका लागि आइतबार हुने भनिएको निर्वाचन आगामी ५ वैशाखका लागि सरेको छ ।
सहमति प्रयासका लागि सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सहमतिका आधारमा सभापति चयनका लागि जोड गर्ने र नभए निर्वाचन गर्ने गरी कार्यविधि तय गरेको छ । बैठकमा सभासदहरुले सहमतिमै सभापति चयन हुनुपर्ने बताएका तिए ।
संविधानसभा बाहिर रहेका शक्तिलाई समेत विश्वासमा लिएर अघि बढ्नुपर्नेमा आफूहरुmलाई ठूला दलले बेवास्ता गरेको भन्दै बैठकमा साना दलका प्रतिनिधिले आपत्ति जनाएका थिए ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी वैशाख १५ गतेभित्र पाँचवटै समितिका सभापति चयन भइसक्नुपर्नेछ ।
समितिको बैठकअघि सहमति प्रयासका लागि भन्दै प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहान छलफल भएको थियो ।