काँग्रेस–एमालेद्वारा भट्टराईलाई संवैधानिक समितिको सभापति अस्वीकार

काठमाण्डु टुडे २०७० चैत ३० गते ६:३० मा प्रकाशित

काठमाण्डु, ३० चैत– संवैधानिक समितिको सभापति चयनका लागि बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ ।
baburam_250सहमतिका समिति सभापति चयनको प्रयासमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक काँग्रेस, एमाले र एकीकृत माओवादीबीच कुरा मिल्न नसकेका कारण बिनानिष्कर्ष सकिएको हो ।

स्रोतका अनुसार काँग्रेस–एमालेले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समितिको नेतृत्व लिन आग्रह गरे । माओवादीले भने समिति सभापतिमा नेता बाबुराम भट्टराईको नाम अघि सारेको छ ।

माओवादीले अध्यक्ष प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाउनुपर्ने भन्दै भट्टराईलाई अघि सारेको हो ।

काँग्रेस–एमालेले भने राजनीतिक विषयमा संवैधानिक समितिमै छलफल गर्न सकिने भन्दै उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका छन् । प्रमुख दलबीच यसअघि संविधान निर्माण प्रक्रिया सहज बनाउन  उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको थियो ।

प्रमुख दलबीच कुरा मिल्न नसकेपछि समिति सभापति चयनका लागि आइतबार हुने भनिएको निर्वाचन आगामी वैशाख ५ गतेका लागि सारिएको छ । सभापतिको नाममा कुरा नमिलेपछि निर्वाचन सार्ने सहमति भएको बैठकमा सहभागी एक नेताले काठमाण्डु टुडेलाई जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us