एमाओवादी निकट शिक्षक संगठनको पदाधिकारीमा हेरफेर

काठमाण्डु टुडे २०७० चैत २९ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, २९ चैत – पदाधिकारीहरुमा हेरफेर गर्दै एमाओवादी निकट अखिल नेपाल शिक्षक संगठनको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

राजधानीमा दुई दिनसम्म चलेको बैठकले उपाध्यक्षमा रामानन्द महतोलाई विदा गर्दै गोरखाका स्थिरप्रसाद खनाल र महासचिवमा लक्ष्मी आङछङ्बोको स्थानमा धादिङका शंकर अधिकारीलाई चयन गरेको छ ।

यस्तै कोषाध्यक्षमा लमजुङका ऋषिराम चापागाईं चयन भएका छन् । यसअघि रोल्पाका बालकुमार श्रेष्ठ कोषध्यक्ष थिए । साथै बैठकले रिक्त सचिव पदमा कञ्चनपुरका कृष्णदत्त जोशी र नवलपरासीका कृष्ण बस्नेतलाई नियुक्त गरेको छ ।

बैठकले शिक्षकहरुका विभिन्न पेशागत माग सम्बोधन गर्न सरकारसँग मागसमेत गरेको छ । यस्तै ६ महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय समेत भएको संगठनका नवनियुक्त महासचिव शंकर अधिकारीले जानकारी दिए ।

अभियान अन्तर्गत ७५ वटै जिल्लाका विभिन्न विद्यालयहरुमा पुगेर शिक्षकहरुको हकहित र नमुना विद्यालय निर्माणका विषयमा छलफल गर्ने निर्णय भएको अधिकारीले बताएका छन् ।

संगठनका अध्यक्ष रत्नबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकको शुक्रबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us