
पोखरा, २९ चैत – युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलाडीहरुको जीविकोपार्जनका लागि राज्यले अभिभावकत्वका रुपमा संरक्षण गर्ने नीति लिनुपर्नेमा जोड दिएका छन् ।
नव वर्ष २०७१ सालको उपलक्ष्यमा नेपाल खेलकुद महासंघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको शुभकामना एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुदका पूर्वाधार, नीति र विधिका कार्यक्रम आए पनि संरक्षण गर्ने नीति नभएकाले खेलाडीमा वितृष्णा बढ्दै गएको धारणा राखे ।
राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आफ्नो जीविका धान्न प्रहरी जवान पदका लागि आवेदन दिन जानु राज्यका लागि निकै दुःखलाग्दो विषय भएकामा चिन्ता व्यक्त गर्दै मन्त्री पौडेलले खेलकुदलाई राजनीतिको ‘एजेण्डा’ बनाउनुपर्ने बताए ।
मन्त्री पौडेलले पोखराको रङ्गशालामा पूर्वाधार, अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि आगामी बजेटमा प्राथमिकता दिन लागिएको जानकारी दिए ।
संघका अध्यक्ष ऋषिराम गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सङ्घका सचिव कृष्ण तिमिल्सिना, भूतपूर्व खेलाडी मञ्चका तेजबहादुर गुरुङलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।