दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना अभियान

काठमाण्डु टुडे २०७० चैत २९ गते ८:०६ मा प्रकाशित

भक्तपुर, २९ चैत – अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–सूर्यविनायक खण्डको छ लेन सडकमा दुर्घटना बढेपछि न्यूनीकरणका लागि चालक, सहचालक तथा यातायात व्यवसायीलाई सचेतना गराउन थालिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथ, काठमाण्डु र मध्यपुर थिमी मिनीबस सद्भाव समितिको संयुक्त आयोजनामा हिजो थिमीमा आयोजित सचेतना कार्यक्रममा सवारी नियम एवम् दुर्घटना हुने कारणबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक राजेन्द्र पोखरेलले अत्यधिक मात्रामा माइक्रोबस दुर्घटना हुने गरेकाले यसतर्फ चालक मात्र नभई व्यवसायीसमेत सचेत हुनुपर्ने बताए ।

नेपालमा हरेक वर्ष सवारी दुर्घटनाबाट एक हजार ७०० जनाले ज्यान गुमाउने गरेको पाइन्छ । साथै, बर्सेनि १५ हजारभन्दा बढी गम्भीर घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै दुर्घटना हुनेमध्ये ८० प्रतिशत ३० वर्षमुनिका र ४० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको सो अवसरमा जानकारी दिएको थियो ।

‘दुर्घटनाबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथ आयोजित सो कार्यक्रममा सवारी चालक, सहचालक, यातायात व्यवसायी, स्थानीय बुद्धिजीवी तथा सञ्चारकर्मी गरी करिब २०० जनाको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us