अष्ट्रिचको मासु निकै लाभदायक

काठमाण्डु टुडे २०७० चैत २९ गते ७:५८ मा प्रकाशित

ostrichकाठमाण्डु, २९ चैत । अष्ट्रिच नेपाल प्रालि बुटवलका मासु वितरक राजु गौतमलाई देशभित्र र बाहिरबाट अष्ट्रिचको मासुको माग बढ्दै गएपछि त्यसलाई धान्न धौ–धौ परेको छ ।

‘अष्ट्रिचको मासु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ, सबै प्रकारका रोगीहरुले यो मासु खान मिल्छ’, अष्ट्रिचको मासु वितरक गौतमले भने, ‘अष्ट्रिचको मासुको स्वाद जनावर र चरा मासुको जस्तो मिश्रित खालको स्वाद हुन्छ, अत्यन्तै स्वादिलो र स्वस्थकर हुने भएकाले यसको माग बढ्दै गएको हो ।’

अष्ट्रिचको मासु मुटुलगायत सबै रोगीले खान मिल्दछ । यसले ६० प्रतिशत घाँस, ४० प्रतिशत अन्न खाने गर्दछन् । यसको मासु, अण्डा, छाला, प्वाँख सबै प्रयोगमा आउँछ ।

‘अष्ट्रिचको मासुको माग बुटवल, काठमाण्डु, पोखरा, भैरहवालगायत स्थानहरुका रहनुको साथै नेपालको छिमेकी राष्ट्र चीन, भारत, पूर्वी एसिया, दक्षिण एसिया, सिङ्गापुरलगायत देशहरुमा राम्रो माग छ, उत्पादन भर्खर–भर्खर सुरु भएकाले मागअनुसार मासुले धान्न मुस्किल परेको छ’ उनले भने ।

अष्ट्रिचको मासु नौ महिनादेखि १४ महिनासम्ममा खानलायक हुन्छ । एउटा अष्ट्रिचमा १५० देखि २५० केजीसम्म मासु हुन्छ । मासुको प्रतिकेजी दुई हजार मूल्य पर्छ । यसको अण्डा पनि स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसको एउटै अण्डा पनि दुई केजीसम्मको हुन्छ र यसको मूल्य दुई हजारसम्म पर्दछ ।

अष्ट्रिचको अण्डा प्रयोग गरिसकेपछि पनि यसको बाहिरी आवरण निकै बाक्लो हुने भएकाले त्यसलाई विभिन्न तरिकाले सिंगारेर वा पेन्टिङ् गरेर उपहारका रुपमा पनि दिने गरिन्छ । अष्ट्रिचको अण्डाको खाली खोलको मूल्य रु एक हजार पर्दछ । त्यसलाई कलाकारले विभिन्न कला सिर्जना गरेपछि पाँच हजारभन्दा बढी मूल्यमा बिक्री गर्दछन् ।

‘अष्ट्रिचको फार्ममा सरसफाइमा ध्यान दिनुपर्छ’, १२ वर्षसम्म साउदी अरेवियामा अष्ट्रिचको हेरचाह गरेर नेपाल आई व्यवसाय सुरु गर्नुभएको अष्ट्रिच नेपाल प्रालि दाङको बेल्झुण्डी शाखाका अष्ट्रिच फार्मका प्रमुख मानबहादुर दर्लामीले भने, ‘अष्ट्रिच शाकाहारी चरा भएकाले यसलाई खानामा घाँस, मकै, गहुँ, मिश्रण बनाएर खुवाइन्छ ।’

यस चरामा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले बड्फ्लूजस्ता रोगहरु हत्तपत्त नलाग्ने सम्बन्धित व्यवसायीहरु बताउँछन् । यिनीहरु समूहका बस्दा पनि मिलेर बस्छन्, आफ्नो संरक्षक चिन्छन् ।

‘अण्डाबाट चल्ला कोरलेपछिको तीन महिनापछि मात्र ती चल्ला खतरामुक्त हुन्छन्, फूलबाट चल्ला निस्किएपछि तीन महिनासम्म जोगाउन निकै सुरक्षित तरिकाले राख्नुपर्छ’ दर्लामीले थपे । विदेशमा अष्ट्रिचसम्बन्धी काम गरेर आएकाले नेपालमा पनि यससम्बन्धी काम गर्न पाउँदा उनी खुसी छन् ।

अष्ट्रिचका लागि नेपालको वातावरण उपयुक्त रहेको अष्ट्रिच नेपाल प्रालिका प्रबन्ध निर्देशक सीपी शर्मा बताउँछन् । ‘राज्यले यो व्यवसायलाई सहयोग गरे यसको भविष्य निकै राम्रो छ’ उनले भने ।

अष्ट्रिच फार्म सञ्चालन गर्दा धेरै युवाले स्वदेशमै रोजगार पाउन सक्छन् । अष्ट्रिचलाई चाहिने घाँस उत्पादन गर्न, घाँस काट्न, फार्म सरसफाइ गर्न, अष्ट्रिचलाई चाहिने उपयुक्त आहार निर्माणका लागि जनशक्ति आवश्यक पर्छ ।

लामो घाँटी, सानो टाउको, ठूला आँखा हुने अष्ट्रिचले १० किलोमिटर टाढासम्म देख्न सक्छ । विश्वको सबैभन्दा ठूलो मानिने यस चराको आयु ८० वर्षको हुन्छ । उड्न नसक्ने यो चराको उचाइ साँढे आठदेखि नौ फीटसम्म हुन्छ ।

व्यावसायिकरुपमा बुटवलको रुपन्देहीको गङ्गालिया गाविस–१ अष्ट्रिच फार्म स्थापना गरिएको छ । यहाँ १५ हेक्टर जमिनमा अष्ट्रिच फार्म रहेको छ भने बुटवलकै सूर्यपुरा गाविस–२ मा ३५ हेक्टर जमिनमा र दाङको बेलझुण्डीमा १०० हेक्टर जमिनमा फार्म सुरु गरिएको छ । यी तीनवटै फाम रु.एक अर्ब लगानीमा सञ्चालन गरिएको छ ।

विसं २०६५ बाट एक हजार ५०० अष्ट्रिचबाट सुरु गरिएको फार्म अहिले विस्तार भएर तीन हजारमा पुगेको छ । यहाँ ६० जनाले रोजगार पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us