
भक्तपुर, २९ चैत – जीवित देवी अर्थात तलेजु भवानीको प्रतिमूर्तिका रुपमा पूजिँदै आएको भक्तपुरको एकान्त कुमारीको भत्ता विगत १० वर्षदेखि नबढेपछि खर्च धान्न समस्या आएको छ ।
लिच्छवीकालदेखि मल्लकाल हुँदै हालसम्म पनि जीवित देवीको रुपमा मानिदै आएको कुमारीको भत्ता नबढेको र नगरपालिकाले समेत कुमारीको बेवास्ता गरेको सरोकारवालाले गुनासो गरेका छन् ।
कुमारी सुसारेदेखि तलेजु नाइकेसमेतले भक्तपुर कुमारीको भत्ता १० वर्षदेखि एउटै भएकाले बढाउनुपर्ने माग गरेका छन् ।
कुमारी सुसारे नाइके (चितारीदार) न्हुच्छेरत्न शाक्यले भने, “१० वर्षमा तीन गुणाले खर्च बढिसक्यो आम्दानीको गति बढेको छैन, यसरी कसरी पुग्छ कुमारीको खर्च ?”
भक्तपुरको कुमारीलाई भक्तपुर नगरपालिकाले समेत बेवास्ता गरेको उनको गुनासो छ । तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले नगरपालिकाले एकान्त कुमारीलाई अहिलेसम्म कुनै भत्ता, र अन्य सेवा नदिई कुमारीको बेवास्ता गरेको बताए ।
भक्तपुरको एकान्तकुमारीलाई १० वर्षदेखि मासिक गुठी संस्थानबाट ४५० र निवृत्तीभरण व्यवस्थापनबाट दुई हजार २५० मात्र भत्ता दिइँदै आएको छ । ‘कुमारीलाई पारिश्रमिकको व्यवस्था गरि“दा यति नै पैसा भनेर नतोके पनि सरकारी शाखा अधिकृत जतिकै मान्यता दिनुपर्ने’ भक्तपुर तलेजुका मूल नाइके जोशी बताउँछन् ।
दसैँको १५ दिन दसैँ घरमा बस्नेबाहेक भक्तपुरकी कुमारीलाई आफ्नै घरमा बस्न, स्कुल जान भने फुकुवा गरिएको छ । १० वर्ष नाघेपछि वा बेलविवाह भएपछि कुमारीबाट स्वतः अवकास पाउने र तलेजुका मूल नाइकेको सिफारिसमा नयाँ कुमारी नियुक्त गर्ने प्रावधान रहेको छ ।
दसैँको घटस्थापना अगाडिको आइतबार वा बिहीबार भक्तपुर तलेजुका राजोपाध्याय, जोशी तथा कर्माचार्यहरु कुमारी घरमा पूजा गर्न जाने प्रचलन रहेको छ ।