सगरमाथा क्षेत्रमा २९ पर्वतारोही टोली

काठमाण्डु टुडे २०७० चैत २९ गते ६:३६ मा प्रकाशित

Everest_kalapatthar_cropसोलुखुम्बु, २९ चैत – सगरमाथा क्षेत्रमा रहेका हिमाल आरोहणका लागि यस वर्षको सिजनमा आजसम्म २९ वटा पर्वतारोहण टोली नाम्चे आइपुगेका छन् । 

सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहणका लागि आरोहण टोली आउने क्रम जारी रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए ।

राईका अनुसार आजसम्ममा सगरमाथा आरोहणका लागि २२, ल्होत्से हिमाल आरोहणका लागि चार र नुप्त्से हिमाल आरोहणका लागि तीन गरी कुल २९ टोली नाम्चे पुगेका हुन् ।

हरेक आरोही टोलीले एसपिसिसीको कार्यालय नाम्चेमा उपस्थिति जनाएर मात्र त्यहाँबाट अघि बढ्ने व्यवस्था छ । उनीहरुले एसपिसिसीको कार्यालय नाम्चेमा आफूहरुले ल्याएको हरेक सामग्रीको विवरण दर्ता गराउनुपर्ने व्यवस्था छ ।

यसैबीच, सगरमाथा आधार शिविरबाट शिखरतर्फ दोस्रो शिविरसम्मको बाटो खन्ने काम एक साताअघि नै सम्पन्न भइसकेको कार्यक्रम अधिकृत राईले जानकारी दिए ।
यस वर्ष सगरमाथा आरोहणको सलामी दस्तुर घटाएकाले आरोहीको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ भने आरोणहलाई व्यवस्थित गर्न आधार शिविरमा सरकारी कार्यालय स्थापना तथा सुरक्षाकर्मीको व्यवस्था गर्ने तयारी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us