संघीयता जातीय आधारमा हुँदैन : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० चैत २८ गते १३:०० मा प्रकाशित

Sushil-Koiralaकास्की, २८ चैत । प्रधानमन्त्री सुशील कोइरालाले संघीयता निर्माणको आधार जातीयता हुन नसक्ने बताएका छन् ।

उग्रजातिवादले विश्वका धेरै मुलुकमा संकट निम्त्याएको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले जातीय आधारमा सङ्घीयता निर्माण नगर्ने आफ्नो निष्कर्ष रहेको स्पष्ट पारे ।

पोखरा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले शुक्रबार आयोजित विश्वविद्यालयको ११ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै संघीयतासहितको गणतन्त्रलाई संस्थागत गर्न र एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्न आफू लागिपरेको बताए ।

मुलुकमा कानुनी राज र सुशासन स्थापना गर्न वर्तमान सरकार सक्षम रहेको दाबी गर्दै प्रधामनमन्त्री कोइरालाले दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गर्नसके ८÷१० वर्षमै मुलुकको विकासमा कायापलट ल्याउन सकिने विश्वास व्यक्त गरे ।

वर्तमान सरकार गठनसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताले मुलुकमा लगानी गर्न चासो देखाएको भन्दै उनले जनताको जीवनस्तर बढाउने कुरा गर्दा आफूले विरोधको सामना गर्नुपरेको बताए ।

विश्वविद्यालयको शैक्षिकस्तर वृद्धि, पूर्वाधारसहित नीतिगत सुधार गर्न सरकार सदैव तयार रहेको भन्दै प्रधानमन्त्री कोइरालाले उच्च शिक्षाको क्षेत्रमा गुणस्तर कायम गरी पोखरालाई विश्वको शैक्षिक केन्द्र बनाउन यस विश्वविद्यालयले सघाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले विज्ञान तथा प्रविधि सङ्कायतर्फ कम्प्युटर एप्लिकेसन विषयको स्नातक तहमा सबैभन्दा उच्च अंक ल्याएर विशिष्ठ श्रेणीप्राप्त गर्ने अविनास बाँस्तोलालाई स्वर्णपदक र स्नातकोत्तर तहमा व्यवस्थापन संकायतर्फ सबैभन्दा उच्च अंक ल्याउने अनिता रानाभाटलाई लक्ष्मी विद्यापदकले सम्मान गरेका थिए ।

दीक्षान्त समारोहमा विश्वविद्यालयले प्रदान गर्दै आएको कुलपति पदक २०७० मानविकी तथा सामाजिक शास्त्र सङ्काय अङ्ग्रेजी विषयमा उच्च अङ्क प्राप्त गर्ने नित्या पाण्डे, विज्ञान तथा प्रविधि सङ्कायका अविनास बाँस्तोला र व्यवस्थापन सङ्काय व्यवसाय प्रशासनतर्फका प्रतीक्षा जोसीले उपकुलपति पदक प्राप्त गरेका छन् ।

समारोहमा विभिन्न शैक्षिक कार्यक्रममा तह पार गरेका तीन हजार ३०० विद्यार्थी दीक्षित भएका छन् । एमफिल तथा स्नातकोत्तर तहको मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ १९ जना, स्नातकोत्तर तहको व्यवस्थापन सङ्कायतर्फ ३२ जना, स्नातकोत्तर तहको विज्ञान तथा प्रविधि सङ्कायतर्फ २२ जना, स्नातक तहको व्यवस्थापन सङ्कायतर्फ १३८ जना, स्नातक तहको विज्ञान तथा प्रविधि सङ्कायतर्फ १११ जना रहेका छन् ।

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति कोइराला, सहकुलपति एवम् शिक्षामन्त्री चित्रलेखा यादवले उपाधि प्रदान गरेका थिए ।

समारोहमा सहकुलपति एवम् शिक्षा मन्त्री यादवले विश्वविद्यालयबाट आर्जन गरेको सीप तथा ज्ञानलाई राष्ट्र निर्माणमा लगाउन आग्रह गरिन् ।

संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृतिलाई मौलिक पहिचान र मनोरञ्जनको साधनको रुपमा मात्र नहेरी राष्ट्रको उन्नति र प्रगतिमा सहयोग गर्ने स्रोत साधनको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका उपकुलपति एवम् प्राध्यापक खगेन्द्रप्रसाद भट्टराईले विद्यार्थीले आर्जन गरेको शिक्षालाई आफ्नो कार्यक्षेत्रमा गई पेसागत मूल्य र मान्यताका साथ इमान्दारितापूर्वक मानव कल्याण र देश विकासमा अधिकतम् प्रयोग गर्ने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us