
काठमाण्डु, २८ चैत – प्राकृतिक सम्पदालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले ललितपुरको गोदावरीमा महोत्सवको आयोजना गरिने भएको छ ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नयाँ वर्ष २०७१ को अवसरमा वैशाख १ गते सो महोत्सव गरिन लागेको जानकारी दिइयो ।
गोदावरी कुण्ड, राष्ट्रिय वनस्पति उद्यान, उपत्यका अवलोकन गर्ने फूल्चोकी डाँडा, पञ्चदेवल मन्दिर, लामकुण्डल, नौधाराको मन्दिर, शान्तिवन, अघोरनाथ गुफालगायतका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रले भरिपूर्ण गोदावरी क्षेत्रमा उक्त महोत्सव गर्न लागिएको हो ।
बाह्र वर्षमा एक पटक लाग्ने गोदावरी कुण्डको मेला २०७२ सालमा पर्ने भएकाले पनि त्यसलाई विशेष प्राथमिकतामा राखी महोत्सव गरिन लागिएको महोत्सवका संयोजक कुन्दन खत्रीले जानकारी दिए ।
महोत्सव एकदिने भए पनि त्यसपछिको एक महिनासम्म विविध कार्यक्रम गरी महोत्सवलाई निरन्तरता दिइनेछ र महोत्सवका लागि गाविस, स्थानीय युवा क्लब, नेपाल पर्यटन बोर्ड तथा विभिन्न सङ्घसंस्थाको समन्वय र सहयोग रहने उनले बताए ।