मोरङका ८८ उम्मेदवारले खर्च विवरण बुझाएनन्

काठमाण्डु टुडे २०७० चैत २७ गते १३:१५ मा प्रकाशित

विराटनगर, २७ चैत – दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको पाँच महिना बित्न लाग्दा पनि मोरङ निर्वाचन क्षेत्रका ६८ उम्मेदवारले निर्वाचन खर्च विवरण नपठाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नौवटा निर्वाचन क्षेत्र रहेको मोरङमा २७० जनाले उम्मेदवारी दिएका थिए ,जसमा स्वतन्त्र २६ जना र महिला उम्मेदवार २७ जना थिए ।

निर्वाचन खर्च विवरण २०२ जना उम्मेदवारले बुझाएको र ६८ जनाले विवरण अझै नबुझाएको कार्यालयका निमित्त प्रमुख केवल रेग्मीले जानकारी दिए ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्रमा उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेकाले नवुझाउने उम्मेदवारलाई १५ दिने पत्र काटिसकेको प्रमुख रेग्मीले बताए ।

एक निर्वाचन क्षेत्रमा एक उम्मेदवारले १० लाखसम्म खर्च गर्ने व्यवस्था भए पनि जमानत जफत भएका, साना दलका उम्मेदवार र केही स्वतन्त्र उम्मेदवारले निर्वाचन खर्च नबुझाएको बताइएको छ ।

प्रमुख राजनीतिक दलका उम्मेदवार तथा विजयी उम्मेदवारले विवरण बुझाइसकेका छन् भने नवुझाउनेका लागि यही चैत मसान्तसम्ममा बुझाउन सूचना जारी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us