
काठमाण्डु, २७ चैत – अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले पुनः संगठनको नेतृत्व गर्ने जिम्मेवारी रहर नभएर बाध्यताको उपज भएको बताएका छन् ।
अध्यक्षमा पुनः निर्वाचित भएपछि काठमाण्डु टुडेसँग कुरा गर्दै उनले विशेष परिस्थितिका कारण आफूले पुनः नेतृत्व सम्हालेको बताए ।
‘फेरि अध्यक्ष बन्ने मेरो चाहाना, आकांक्ष र मनोविज्ञान थिएन,’ शर्माले भने, ‘यो विशेष परिस्थितिमा आएको निर्णय हो ।’ संगन शून्यतामा जाने खतरा देखिएकाले आफूले केही समयका लागि नेतृत्व लिएको उनको भनाइ छ ।
‘निर्वाचनमा जाने नीति बनाएका थियौं, निर्वाचन हुन सकेन र सहमति पनि भएन,’ शर्माले भने, ‘संगठन शून्यतामा जाने खतरा देखिएकाले यस्तो परिस्थिति आएको हो ।’
छोरा राजनीतिमा आउने बेलामा किन तपाई अझै जिम्वेवारीमा हुनुहुन्छ ? भन्ने हाम्रो जिज्ञासामा शर्माले, त्यसो भन्न नमिल्ने बताए । ‘म २७ वर्षदेखि राजनीतिमा क्रियाशील छु,’ उनले भने, ‘अझै पनि दैनिक १८ घण्टा खट्न सक्छु, त्यसैलाई मलाई यस्तो भन्न मिल्दैन ।’
साथै शर्माले सम्मेलन सफल भएको दावी समेत गरेका छन् । ‘सम्मेलनले राजनीतिक र विधान संसोधन प्रस्ताव पारित गरेको छ,’ शर्माले भने, ‘नयाँ नेतृत्व चुन्न नसकिएपनि मलाई सर्वसम्मत रुपमा फ्रेस म्याण्डेट मिलेको छ, त्यस कारण पनि यो सम्मेलन सफल भएको छ ।’
आफूले नेतृत्व लिएर संगठनलाई दुर्घटनाबाट बचाउने उनको दावी छ ।