
काठमाण्डु, २७ चैत – नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले शैक्षिकसत्रको सुरुआतसँगै निजी विद्यालयले विभिन्न नाममा विद्यार्थीमाथि चर्को शुल्क वृद्धि गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
संगठनद्वारा विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले निजी शिक्षण संस्थाकातर्फबाट हालै गरिएको शुल्क वृद्धिको निर्णयलाई सर्वोच्च अदालतले अवैध घोषणा गरे पनि बढाएको शुल्क नघटाएको भन्दै फैसला कार्यान्वयन र अनुगमन गर्न सरकारसँग माग गरे । ‘अहिले निजी विद्यालयले १५ देखि २५ प्रतिशतसम्म शुल्क वृद्धि गरेका छन्, नर्सरीका विद्यार्थीलाई समेत स्विमिङ शुल्क भन्दै शुल्क उठाइएको छ’ उनले भने, ‘सरकारले कारबाही नगरे हाम्रो संगठनले नै ती विद्यालयको प्रतिरोध गर्छ ।’
एक पटक भर्ना भएको विद्यार्थीलाई सोही विद्यालयले हरेक वर्ष भर्ना गर्दा भर्ना शुल्क लिने या विभिन्न नाम र शीर्षकमा वार्षिक रुपमा शुल्क लिन नपाइने नियमलाई निजी विद्यालयले बारबार उलङ्घन गरिरहेको उनको भनाइ थियो । विभिन्न विदेशी नाम राखिएका शैक्षिक संस्थाका विरुद्धमा गत वर्ष भएको आन्दोलनका क्रममा ती नाम सच्याउन एघारबुँदे सम्झौतासमेत भए पनि त्यो लागू नभएकाले त्यसलाई लागू गर्न सरकार र विद्यालयसँग उनले माग गरे ।
कक्षा १२ सम्मको शिक्षालाई विद्यालय तहको शिक्षा बनाउने विगतको निर्णय अविलम्ब कार्यन्वयन गर्न पनि संगठनले माग गरेको छ । विगतमा जस्तै यस वर्ष पनि जनक शिक्षा सामग्री केन्द्रले समयमै पाठ्यपुस्तक विद्यार्थीसम्म नपु¥याएकामा आपत्ति जनाइएको छ ।