वरिष्ठ प्रहरी अधिकृतको बढुवा छिट्टै : गृहमन्त्री

काठमाण्डु टुडे २०७० चैत २७ गते ७:१२ मा प्रकाशित

bamdevकाठमाण्डु, २७ चैत – उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रहरीको बढुवाका प्रक्रिया तत्काल अघि बढाउने बताएका छन् । लामो समयदेखि रोकिँदै आएको बढुवा प्रक्रियालाई नियमावली छिटो संशोधन गरेर कार्यान्वयनमा तुरुन्त लैजान तयारीमा रहेको उनको भनाइ छ ।

लोकसेवा आयोगका तर्फबाट त्यसमा आवश्यक सहयोग नपाएको गुनासो गर्दै गृहमन्त्री गौतमले वरिष्ठ अधिकृतको बढुवाका लागि परामर्श लिने नाममा निर्देशन लिने विगतको प्रयासले गर्दा बढुुवा प्रक्रियामा असर परेको बताए । जस्तोसुकै आरोप लागे पनि मन्त्रिपरिषद्बाट निर्णय गराएर अघि बढ्ने उनको दृढता छ ।

आयोगबाट अब केही समयभित्रै परामर्श प्राप्त भएन भने राज्यसत्ता बन्द हुन सक्दैन,’ नेपाल प्रहरी अस्पतालको ३० वार्षिकोत्सवका उपलक्ष्यमा विहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय गरेर अघि बढ्छौं ।’

गौतमले नेपाल प्रहरी अस्पताललाई त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गराई मेडिकल कलेजका रुपमा विस्तार गर्ने प्रयास भइरहेकोसमेत बताएका छन् । शिक्षण अस्पतालका रुपमा स्तरोन्नति भएपछि आफ्नै मिहिनेतमा आत्मनिर्भर हुन अस्पताल सक्षम हुने उनको विश्वास छ ।
प्रहरी प्रधान कार्यालयले कल्याणकारी कोषमार्फत अस्पतालको भौतिक पूर्वाधार तथा सेवा विस्तारका लागि ५० लाख प्रदान गरेकामा प्रशंसा गर्दै गृहमन्त्री गौतमले अस्पतालको उन्नयनका लागि सरकारले पनि सक्दो सहयोग पुर्याउने वचन दिए ।

विश्व शान्तिस्थापना कार्यमा नेपाल प्रहरीबाट मुलुकको इज्जत र प्रतिष्ठा बढाउने काम भएकामा गौरव गर्दै गौतमले देशभित्र हुने प्रत्येक घटनाको जिम्मेवार र जवाफदेही गृह मन्त्रालय र त्यसको नेतृत्वकर्ता हुने भएकाले मातहतका निकायका कसैले पनि गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिन नहुने बताए ।

सो अवसरमा गृह सचिव जनार्दन नेपालले स्वास्थ उपचारका क्षेत्रमा नेपाल प्रहरी अस्पतालले निकै प्रतिष्ठा र गौरव कमाएको बताए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अस्पतालबाट प्रदान गरिने सेवासुविधालाई अझ गुणस्तरीय बनाउने काममा थप योगदान पु¥याउन निर्देशन दिए ।

अस्पतालका निर्देशक डा. रामनाथ सिंहले नेपाल प्रहरीले प्रहरी कर्मचारीका लागि अघि सारेको कल्याणकारी कार्यक्रमअन्तर्गत स्वास्थ्य र शिक्षा विशेष प्राथमिकतामा परे तापनि सीमित स्रोत साधनले मात्र दैनिक उपचार खर्च व्यहोर्न अप्ठ्यारो परेकाले अस्पतालको स्तरोन्नति र सेवा थप गर्नुपर्ने औंल्याए ।

आजभन्दा ३० वर्षअघि नक्सालस्थित एउटा कोठाबाट सुरु भएको उक्त अस्पताल अहिले काठमाडौँमा ३०० शैय्याको छ । सो अस्पताललाई क्षेत्रगत रुपमा दिपायल र नेपालगन्जमा समेत १५/१५ शय्यासहित विस्तार गरिएको छ । अस्पतालबाट बहालवाला प्रहरी उनका आश्रित परिवार, भूतपूर्व प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई समेत स्वास्थ्य सेवा दिइँदै आएको छ ।

यस वर्ष अस्पतालबाट ९८ हजार ९१५ जनालाई विभिन्न प्रकारका सेवा प्रदान गरिएको छ । बहिरङ्ग सेवातर्फ ९३ हजार ३३४ र अन्तरङ्गतर्फ दुई हजार ८१९ जनालाई सेवा पु¥याइएको छ । यस वर्ष अस्पतालबाट एक हजार १३० जनाको गम्भीर प्रकारका शल्यक्रिया गरिएका थिए । स्वास्थ्य उपचारका हिसाबले रोग पहिचान गर्ने सन्दर्भमा महत्वपूर्ण मानिएको एमआरआई उपकरण खरिद प्रक्रियालाई उक्त अस्पतालले यस वर्ष प्राथमिकतामा राखेको छ ।

समारोहमा प्रहरी प्रधान कार्यालय कल्याणकारी कोषबाट महानिरीक्षक अर्यालले अस्पतालको भौतिक सेवा विस्तारका लागि रु ५० हजारको थैली निर्देशक सिंहलाई हस्तान्तरण गरे । त्यस्तै नेपाल प्रहरी श्रीमती सङ्घबाट रु एक लाख ४२ हजारको चेक प्रदान गरियो ।

समारोहमा महानगरीय सशस्त्र प्रहरी गण २ महाराजगन्जलाई प्रशंसापत्र तथा अस्पतालमा वर्षभरिमा उत्कृष्ट कार्य गर्ने प्रहरी नायब उपरीक्षक दिलकुमारी गुरङलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिनाका साथै अस्पतालद्वारा प्रकाशित ‘आरोग्य दर्पण’ नामक वार्षिक स्मारिकासमेत विमोचन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us