
काठमाण्डु, २६ चैत – बहुप्रतिक्षित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठनसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ ।
व्यवस्थापिका–संसदको बुधबारको बैठकमा कानुन न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले उक्त विधेयक सदनमा दर्ता भएको जानकारी दिए ।
एनेकपा माओवादीले उक्त विधेयक संसदमा प्रस्तुत नभए व्यवस्थापिका–संसदको कारबाही अघि बढ्न नदिने अडान राखेपछि दुई घण्टाका लागि स्थगन भएको संसद सुरु हुने बित्तिक्कै आयोग गठन गर्न सरकार प्रतिबद्ध रहेको आचार्यले बताउ ।
उनले अध्यादेशमार्फत आएको विधेयक प्रतिस्थापन गर्न र सर्वोच्च अदालतको फैसलाअनुरुप विधेयक तर्जुमा गर्न खोजिँदा केही विलम्ब भएको भएपनि सबै पक्षलाई मिलाएर शान्ति, मेलमिलाप, समझदारी कायम गर्न विधेयक दर्ता गरिएको स्पष्ट पारे ।
सभासद्हरुले उठाएका विषयप्रति सरकार अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै मन्त्री आचार्यले दण्डहीनताको अन्त्य र दिगो शान्ति कायम गर्न विधेयक फलदायी हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले जनकपुर बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकाहरुबारे जानकारी दिए ।
फरार रहेका सञ्जय साहलगायत घटनाका योजनाकारहरुको गृह प्रशासनले तदारुकता साथ खोजी गरिरहेको उनले जानकारी दिए ।