
काठमाण्डु, २६ चैत –एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीको राजधानीमा जारी १९ औं राष्ट्रिय सम्मेलन नेतृत्व चयन प्रक्रियामा देखिएको विवादका कारण लम्बिएको छ ।
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा जारी बन्दशत्रमा प्रतिनिधिबीच नेतृत्व चयन प्रक्रियाबारे विवाद भएपछि बन्दशत्र बिहीबारसम्मका लागि स्थगित भएको छ । नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षधर प्रतिनिधि सहमति र संस्थापन पक्षधर निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् । दुवैथरिले बुधबार बन्दशत्रमा निर्वाचनको पक्ष र विपक्षमा नाराबाजी गरे ।
सम्मेलन स्थलमा होहल्ला र नाराबाजीपछि बन्दसत्र बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । भट्टराई र श्रेष्ठ पक्षले अध्यक्षमा निवर्तमान उपाध्यक्ष जागृत रायमाझी र महासचिवमा डिबी तामाङ सर्वसम्मत हुनुपर्ने अडान लिएको छ । रायमाझी श्रेष्ठ र तामाङ भट्टराई पक्षधर हुन् । संस्थापन पक्षले भने सहमति वा निर्वाचन दुवैका लागि निवर्तमान उपाध्यक्ष रमेश मल्ललाई अघि सारेको छ ।
भट्टराई र श्रेष्ठ पक्षधर प्रतिनिधिले सहमतिमा नेतृत्व चयन हुनुपर्ने भन्दै बन्दशत्रमा नाराबाजी गरेपछि विघटित पदाधिकारी बैठकले विवाद नेतृत्व चयन प्रक्रिया टुंगो लगाउने जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयलाई दिने भन्दै लिखित सहमति गरेको थियो । सहमतिबारे पार्टीका तर्फबाट विद्यार्थी हेर्ने नेता हेमन्तप्रकाश ओलीसहित हिमाल शर्मा र केही पूर्वपदाधिकारी निर्णयबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराउन लाजिम्पाट पुगेका थिए । त्यसलगत्तै प्रतण्डले बोलाएको पदाधिकारी बैठकमा पनि नेतृत्वबारे सहमति भएन ।
बैठकले तत्कालका लागि निवर्तमान अध्यक्ष हिमाल शर्मालाई नै कायम गरी एक वर्षपछि विशेष महाधिवेशन डाक्ने सहमति गरेको छ । तर विद्यार्थीले त्यसलाई नमान्ने बताएका छन् । सहमतिको खबर सुन्नेबित्तिकै प्रतिनिधिले बन्दशत्रमै ‘प्रतिगमन मूर्दावाद, निर्वाचनबाट नेतृत्व चयन गर’, जस्ता नारा लगाएका थिए ।
यसैबीच हेर्डक्वार्टरको निर्णयप्रति असन्तुष्ट प्रतिनिधिले निर्वाचन हुनुपर्ने माग गर्दै हस्ताक्षर संकलन अभियान चलाएका छन् । सम्मेलनमा सहभागी १३ वटा राज्य संयोजकले करिब ८० प्रतिशत प्रतिनिधिले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुनुपर्ने माग गर्दै हस्ताक्षर गरेको नेवा: राज्य संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए ।
‘११ सय ८५ प्रतिनिधिको अधिकार कुण्ठित हुने गरी निर्णय मान्य हुँदैन’, सचिव पदका उम्मेदवारसमेत रहेका बस्नतले काठमाण्डु टुडेसँग भने, ‘सके सहमति नभए सर्वसम्मत पारित गरिएको निर्वाचन कार्यविधिअनुसार निर्वाचन हुनुपर्छ ।’ उनले बिहीबार बिहान बन्दशत्रअघि प्रचण्डलाई भेटेर निर्वाचन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाउने जानकारी दिए ।