अखिल क्रान्तिकारीको अध्यक्ष पुनः हिमाल शर्मा

काठमाण्डु टुडे २०७० चैत २६ गते १२:०१ मा प्रकाशित

akhil-krantikari-flag1_20130519042531काठमाण्डु, २६ चैत – एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा हिमाल शर्माले निरन्तरता पाउने भएका छन् ।

सहमति जुट्न नसकेपछि एक वर्षपछि विशेष सम्मेलन गरेर नयाँ नेतृत्व चुन्नेगरी शर्मालाई नै निरन्तरता दिने निर्णय एमाओवादी हेर्डक्वार्टरले गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकले यस्तो निर्णय गरेको नारायणकाजी श्रेष्ठ निकट एक विद्यार्थी नेताले जानकारी दिए ।

हेर्डक्वाटर बैठकमा नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले निवर्तमान उपाध्यक्ष जागृत रायमाझीलाई अध्यक्ष र निवर्तमान सचिव डिबी तामाङलाई महासचिव बनाउनु पर्ने अडान लिएपछि सहमति जुट्न सकेन ।

सोही कारण एक वर्षका लागि शर्मालाई नै निरन्तरता दिने निर्णय भएको स्रोतले जनायो । रायमाझी श्रेष्ठ र तामाङ भट्टराई निकट मानिन्छन् ।

यद्यपी अखिल क्रान्तिकारीका निवर्तमान महासचिव विन्दमान विष्टसहितका विद्यार्थी नेताहरुले हेर्डक्वार्टरको निर्णय प्रति आपत्ति जनाएका छन् ।

जुनसुकै हालतमा पनि नयाँ नेतृत्व चुन्नु पर्ने भन्दै विष्टले निवर्तमान अध्यक्ष शर्माको चाहना अनुसार नै हेर्डक्वार्टरले निर्णय गरेको भन्दै असन्तुष्टि जनाए ।

यसअघि बसेको क्रान्तिकारीको पूर्वपदाधिकारी बैठकले पार्टी हेर्डक्वार्टरको निर्णय मान्ने निर्णय गरेको थियो ।

सो निर्णय लिएर पार्टीका तर्फबाट विद्यार्थी संगठन हेर्ने इञ्चार्ज हेमन्तप्रकाश ओली र संगठनका निवर्तमान अध्यक्ष हिमाल शर्मा लाजिम्पाट पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us