
काठमाण्डु, २६ चैत – किष्ट बैंक र प्रभु विकास बैंक गाभिएपछि बन्ने बैंकको नाम र संरचनाका विषयमा प्रारम्भमै विवाद उत्पन्न भए पछि गाभिने (मर्जर) प्रक्रिया ढिलाइ हुने भएको छ ।
दुई बैंक एक भएर बैंकिङ् कारोबार सञ्चालन गर्न सैद्धान्तिक रुपमा सहमत भएर नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता गराए पनि बैंकको नाम के राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएको हो ।
प्रभु विकास बैंक पक्षले किष्टको कुनै पहिचानै नदेखिने गरी ‘प्रभु बैंक’को मात्र नाम राख्न प्रस्ताव गरेसँगै दुवै पक्षबीच नामका विषयमा मतैक्यता हुन नसकेको हो । किष्ट बैंकले भने आफ्नो पहिचानसहित ‘प्रभु किष्ट बैंक’ नाम राखेर एकीकरण गर्ने प्रस्ताव राखेको छ ।
विवाद चुलिएपछि किष्टका संस्थापक सेयर धनीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका छन् । उनीहरुले प्रभुले ७५ लाख कित्ता सेयर खरिद गरेको आधारमा आफ्नै नाम राख्नुपर्छ भन्ने अडान त्याग्नुपर्ने माग गरेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले दुई बैंक एक आपसमा गाभिन सहमत भएर निवेदन दिएको उल्लेख गर्दै त्यस विषयमा अध्ययन भइरहेको जानकारी दिए ।
उनले दुई बैंकबाट प्राप्त भएका निवेदनका विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै सामान्य उजुरीभन्दा पनि राष्ट्र बैंकको प्रावधान पूरा भएमा गाभिने प्रक्रिया अघि बढ्ने उल्लेख गरे ।
किष्ट बैंक (क वर्ग)को दुई अर्ब चुक्ता पुँजी, २० अर्ब निक्षेप र १५ अर्ब लगानी छ । देशभर ५१ शाखा तथा ८० वटा एटिएम सञ्चालनमा छन् भने ६०० कर्मचारी रहेका छन् ।
त्यस्तै भर्खंरै फाइनान्स कम्पनीबाट विकास बैंक (ख वर्ग)मा स्तरोन्नति भएको प्रभु विकास बैंकको ७५ करोड चुक्ता पुँजी छ । यसको १० अर्ब निक्षेप, सात अर्ब लगानी, ३०० कर्मचारी र ४४ शाखा रहेका छन् ।