शान्तिका लागि गान्धीवादी चिन्तन आवश्यक : देउवा

काठमाण्डु टुडे २०७० चैत २६ गते १०:१० मा प्रकाशित

sher_Bahadur_Deubaकाठमाण्डु, २६ चैत – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति र विकासका लागि गान्धीवादी चिन्तन आवश्यक भएका बताएका छन् ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा गत चैत २२ गतेदेखि काठमाण्डुमा सञ्चालन गरिएको गान्धी कथा वाचन कार्यक्रमको समापन समारोहमा देउवाले तत्कालीन अवस्थामा अत्यन्त शक्तिशाली अङ्ग्रेजलाई अहिंसात्मक आन्दोलनका माध्यमबाट पराजित गर्ने महात्मा गान्धी विश्व इतिहासकै अनुकरणीय व्यक्तित्व भएको बताए ।

नेता देउवाले नेपाल लामो समयको द्वन्द्वात्मक अवस्थाबाट शान्ति प्रक्रियामा गइरहेको वर्तमान अवस्थामा गान्धीले देखाएको बाटोलाई अनुसरण गर्नु आवश्यक भएको उल्लेख गरे ।

उनले विकासको खोजी गाउँबाट हुनुपर्ने गान्धीवादी चिन्तन नेपाल जस्तो ८० प्रतिशत गाउँले भरिएको देशका लागि सान्दर्भिक रहेको धारणा राखे ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानका मानार्थ अध्यक्ष एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले शान्ति र विकास एक अर्कामा पुरक भएका कारण नेपालमा शान्ति र विकासको क्रमलाई सँगसँगै लैजान गान्धीवादी चिन्तनलाई व्यावहारिक रुपमा उपयोग गरिनुपर्ने बताए ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले सत्य, शान्ति, अहिंसा र स्वतन्त्रताका लागि गान्धीको विचार युगजयी भएको चर्चा गर्दै पाँच दिने कथावाचनलाई विचारको महायज्ञका रुपमा लिइएको उल्लेख गरे ।

कार्यक्रममा पूर्व मन्त्रीद्वय दीपकुमार उपाध्याय र होमनाथ दाहाल, प्राध्यापक आनन्द आचार्य, रश्मिशर्मा पौडेल, डा सङ्घमित्र गडेकरलगायतले पाँच दिने गान्धी कथावाचनले नेपालको जारी राजनीतिक संक्रमणको समाधानका लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा प्रसिद्ध गान्धीवादी चिन्तक (कथावाचक) एवम् गुजरात विद्यापीठका कुलपति नारायणभाइ महादेवभाइ देसाई, सङ्गामित्रा देसाई गडेकर, भद्रा विक्रम सभाइलगायतलाई प्रतिष्ठानकातर्फबाट नेता देउवाले सम्मान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us