
इटहरी, २६ चैत – राष्ट्रपति डा रामवरण यादवले मुलुकलाई एक शुत्रमा बाँध्न र धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्नका लागि धार्मिक महोत्सव महाकुम्भले महत्वपूर्ण सन्देश दिएको बताएका छन् ।
बुधबार बिहान सुनसरी जिल्लाको बराहक्षेत्रको चतरा कौशिकी तट क्षेत्रमा रहेको प्राचीन हरिद्वार चतराधाममा स्थापना गरिएको कुम्भस्तम्भको उद्घाटनपछि राष्ट्रपति डा यादवले सो कुरा बताएका हुन् ।
उनले कुम्भस्थलमा निर्माण गरिएको ५९ मिटर अग्लो कुम्भस्तम्भको उद्घाटनसँगै कुम्भघडाको पूजासमेत गरे ।
कौशिकी तट कोसी नदीको बराहक्षेत्रको चतरामा लागि रहेको यस धार्मिक महोत्सवले नेपालको राष्ट्रिय एकता स्थापित गर्ने राष्ट्रिय अखण्डतालाई अक्षुर्ण कायम राख्दै मुलुकलाई समृद्ध बनाउँदै नेपालको गौरवगाथालाई टाढाटाढासम्म फैलाउनका लागि पनि यो महाकुम्भले सन्देश दिइरहेको राष्ट्रपति डा यादवले उल्लेख गरे ।
उनले नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको अथक मिहेनत र परिश्रमकै कारण आज नेपालीले गौरव गर्ने धार्मिकस्थल कुम्भको महत्व बुझ्ने मौका प्राप्त गरेकोमा गौरवको अनुभूति भएको उल्लेख गर्दै यसलाई अरु फैलाउने कार्यमा हामी नेपाली सबैले साथ दिनुपर्ने कुरामा जोड दिए ।
नेपालमा धेरै प्राचीन र पौराणिक धार्मिक तीर्थस्थहरु रहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति डा यादवले ती धार्मिक तीर्थस्थलको महिमालाई अरु उजागर गरेर धार्मिक पर्यटन बढाउने हो भने नेपाल धार्मिक पर्यटनको माध्यमबाटै समृद्ध बन्न सक्ने स्पष्ट पारे ।
राष्ट्रपति डा यादवले बराहक्षेत्रको कुम्भ तीर्थस्थलको जति महिमा बाहिर आइरहेको छ त्यही अनुपातमा अरु धार्मिक तीर्थस्थलका विषयमा पनि महत्व उजागर गर्नु नै नेपालको हितमा रहेको उल्लेख गरे ।