योजना आयोगले दीर्घकालीन योजना बनाउनै सकेन : मन्त्री पाण्डे

काठमाण्डु टुडे २०७० चैत २६ गते ९:३१ मा प्रकाशित

mahendra-Pandeyभक्तपुर, २६ चैत – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय योजना आयोगले दीर्घकालीन योजना बनाउन नसकेका कारण देश विकास पछाडि परेको बताएका छन् ।

भक्तपुरको बालकोट गाविसस्थित मेरिगोल्ड इङ्लिस स्कुलको १५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘देशमा सरकार फेरिँदा, प्रधानमन्त्री फेरिँदा योजना आयोग पनि फेरिन्छ, अनि कसरी बन्छ दीर्घकालीन योजना, योजना आयोगले प्रभावकारी ढङ्गले दीर्घकालीन योजना बनाउन सकेमात्र देश विकासमा लम्कन्छ ।’

परराष्ट्रमन्त्री पाण्डेले संविधानसभा निर्वाचनमा दलहरुले आफ्नो घोषणापत्रमा १० देखि ५० वर्षसम्मका योजना सार्वजनिक गरेको आँैल्याउँदै यसलाई पूरा गर्न दल अब अग्रसर हुनुपर्नेमा जोड दिए ।
विश्वमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आजको आवश्यकता भएको आँैल्याउँदै उनले समाजमा विद्यार्थी नै कुसंस्कारमा लाग्दै गएकाले यसलाई जोगाउन परिवारमा महिलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

देशको सार्वभौम बन्दुकले होइन, कूटनीति, कुशलता, बुद्धि विवेकले जोगिन्छ भन्ने कुरा अहिलेका विद्यार्थीलाई बुझाउनुपर्नेमा उनले जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us