डिभी, पिआर र ग्रीन कार्ड लिने कर्मचारीको नाम सार्वजनिक हुन्छः मन्त्री पण्डित

काठमाण्डु टुडे २०७० चैत २६ गते ७:५८ मा प्रकाशित

Lalbabu-3 copyमोरङ, २६ चैत – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा कार्यरत रहेर विदेशी नागरिकता र बसोबासको अनुमतिपत्र डिभी, पिआर र ग्रीन कार्ड लिनेहरुको नामावली चाँडै सार्वजनिक गरिने बताएका छन् ।

बुधबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले निजामती सेवामा रहेर विदेशको डिभी र पिआर लिनेको नामावली सङ्कलन अन्तिम चरणमा पुगिसकेकाले चाँडै नामावली सङ्कलन गरेर कारबाहीको प्रक्रिया अगाडि लैजाने दृढता व्यक्त गरे ।

उनले देशको सेवा गर्छु भन्नेले पैसा कमाउनकै लागि डिभी र पिआर लिँदा नेपालीको स्वाभिमानमा आँच आएकाले त्यस्तो कार्य गर्नेलाई एकपल्ट सच्चिने मौका दिने र नमान्नेलाई राज्यघातको आरोपमा कानुनी कारबाही थाल्ने जानकारी दिए ।

मन्त्री पण्डितले दोहोरो नागरिकता र अनुमति लिने सरकारी कर्मचारीको नामावली उपलब्ध गराउन विदेशी राजदूतसँग पनि कुरा गरिसकेकाले जुनसुकै शक्ति आए पनि उनीहरु कारबाहीबाट जोगिन नसक्ने दाबी गरे ।

दुई वटा नेपाली नागरिकता लिने सामान्य नेपालीले देशभित्रै कारबाही भोग्नुपर्ने कानुन रहेको तर देशको सेवा गर्छु भनेर निजामती सेवामा भर्ना हुने अनि पैसा कमाउनका लागि आफ्नी आमालाई लात हानेर विदेश भासिने राष्ट्रघातीहरु हुन भन्दै उनीहरुलाई कारबाही नगरेसम्म नेपालको निजामती प्रशासन सुधार नहुने बताए ।

उनले कसैले दबाब दिएकै र गाली गरेकै भरमा आफूले उठाएको मुद्दाबाट पछि नहट्ने बरु काम गर्न नसक्ने मन्त्री पद त्याग गर्ने प्रस्ट पारे ।

निजामती सेवामा सुधार ल्याउनका लागि ऐन संसोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री पण्डितले सरकारी सेवा सुविधाको दुरुपयोग गरेर नाजायज फाइदा लिने जो कोही कर्मचारीलाई आफूले कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us