ट्रक र माइक्रोबस ठोक्किँदा २४ जना घाइते

काठमाण्डु टुडे २०७० चैत २५ गते १३:१३ मा प्रकाशित

चितवन, २५ चैत – चितवनको रामनगर नजिकैको जङ्गलमा मंगलबार भएको सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

काठमाण्डुबाट चितवनतर्फ आइरहेको ना ४ ख ९३९२ नम्बरको ट्रक र काठमाण्डुतर्फ जाँदै गरेको ना २ख ६३५७ नम्बरको माइक्रोबस एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कास्कीकी २९ वर्षीया रजनी श्रेष्ठ र नुवाकोटकी १९ वर्षीया सुभद्रा सुनारलाई थप उपचारका लागि आज अपराह्न काठमाण्डु लगिएको छ ।

गम्भीर अवस्थामा रहेका माइक्रो बसका चालक धादिङ नौविसेका ३२ वर्षीय रुपक केसी र अर्का एकजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us