‘निक इलेक्ट्रो टेक २०१४’ सम्पन्न

काठमाण्डु टुडे २०७० चैत २५ गते १३:१० मा प्रकाशित

काठमाण्डु, २५ चैत – ‘सुरक्षाको लागि गुणस्तर’ भन्ने मूल नाराका साथ यही चैत २१ गतेदेखि सुरु भएको विद्युतीय सामग्रीहरूको बृहत् प्रदर्शनी ‘निक इलेक्ट्रो टेक २०१४’ मंगलबार सम्पन्न भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भएको पाँच दिने उक्त प्रदर्शनीको करिब ४० हजारले अवलोकन गरेको महासंघका प्रचारप्रसार समितिका संयोजक पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

महासंघका अध्यक्ष महेन्द्रबहादुर राठीले उपभोक्ताले एउटै छानामुनि आफ्ना रुचिका उत्पादनको निरीक्षण गर्ने अवसर पाउनाका साथै तथा पछिल्लो प्रविधिबारे ज्ञान हासिल गरेको बताए ।

उनका अनुसार प्रदर्शनी मूलतः बिक्री गर्ने भन्दा पनि गुणस्तरीय विद्युतीय वस्तुको प्रवद्र्धन गर्न केन्द्रित रहेको थियो । विद्युतीय क्षेत्र अत्यन्त संवेदनशील भएकाले सानो त्रुटिले पनि आगलागी तथा ठूला दुर्घटना भई जनधनको क्षति समेत हुनसक्ने हुँदा आम उपभोक्ताहरूमा विद्युतीय सामग्रीको गुणस्तर र सुरक्षित उपयोगका सम्बन्धमा सचेतना जगाउन प्रदर्शनीले नयाँ आयाम थपेको विश्वास गरिएको छ ।

प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनको प्रदर्शनी, वैकल्पिक ऊर्जालगायत ऊर्जासँग सम्बन्धित सबै पक्षका सम्बन्धमा मेलामा यथेष्ट जानकारी हासिल गर्ने अवसर उपभोक्तालाई मिलेको थियो ।

प्रदर्शनीका क्रममा ‘सुरक्षा र गुणस्तर’, ‘सुरक्षा र सजावट’, ‘विद्युत्जन्य दुर्घटना संयोग होइन सुरक्षाप्रतिको बेवास्ताको उपज हो’ भन्ने विषयमा गोष्ठी सञ्चालन गरिएको थियो ।

यसअघि महासङ्घले सन् १९९६, १९९८, २०००, २००४, २००९, १०१२ मा यस किसिमको प्रदर्शनी गरिसकेको छ ।

प्रदर्शनीका लागि ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल लघु जलशक्ति विकास संस्था, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल विद्युतीय उत्पादक संघ (निमा), सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स अफ नेपाल, नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एसोसिएशन (नेका) र सौर्य विद्युत् उत्पादक संघ लगायतले सहयोग गरेका थिए ।

प्रदर्शनीमा १९३ वटा स्टल राखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us