
काठमाण्डु, २५ चैत – एकीकृत नेकपा माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीको काठमाण्डुमा जारी १९औं राष्ट्रिय सम्मेलमा नयाँ नेतृत्व चयन प्रक्रिया बुधबार मात्रै सुरु हुने भएको छ ।
मंगलबार हुने भनिएको निर्वाचन महासचिव विन्दमान विष्टको विधान संसोधन प्रस्तावमाथिको छलफल लम्बिएको र केही विषयमा विवाद देखिएका कारण बुधबारसम्मका लागि स्थगित भएको क्रान्तिकारीले जनाएको छ ।
विष्टले १३ जना पदाधिकारी र १ सय ६५ केन्द्रीय सदस्यको प्रस्ताव गरेपनि पदाधिकारीको संख्या जम्बो बनाउन नहुने भन्दै केही प्रतिनिधिले कुरा उठाएपछि विवाद देखिएको छ । उनीहरुले पदाधिकारी ९ सदस्यीय बनाउनु पर्ने माग राखेका छन् । यद्यपी अध्यक्ष हिमाल शर्माको राजनीतिक प्रतिवेदन हिजै पारित भएको थियो ।
मंगलबार सहभागीको जिज्ञासामा निवर्तमान अध्यक्ष हिमाल शर्माले जवाफ दिएका छन् । त्यसअघि पार्टी नेता नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
साथै नयाँ नेतृत्वमा अध्यक्षका प्रत्यासी रमेश मल्ल र जागृत रायमाझीले मन्तव्यसमेत राखेका क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य दिपक देवकोटाले जानकारी दिए ।
सहमति प्रयास विफल भएपछि निर्वाचनमार्फत नेतृत्व चयन प्रक्रिया अघि बढाइएको अध्यक्षका प्रत्याशी रमेश मल्लले काठमाण्डु टुडेलाई बताए ।
‘नेतृत्व चयनमा सहमति हुन सकेन’, मल्लले भने, ‘निर्वाचन प्रक्रिया र सहमतिको प्रयास सँगसँगै अगाडि बढ्छ ।’
अध्यक्षमा हालका उपाध्यक्षद्वय मल्ल र जागृत रायमाझीबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका अर्का दावेदार महासचिव बिन्दमान विष्टले अन्तिम समयमा आएर मल्ललाई समर्थन गरेका छन् ।
मल्ल संस्थापन र रायमाझी नेता नारायणकाजी श्रेष्ठ पक्षधर हुन् । अर्का नेता बाबुराम भट्टराई पनि रायमाझीका पक्षमा देखिएका छन् । सचिवद्वय नरेन्द्र न्यौपाने र अनिल शर्मा महासचिवमा भिड्दैछन् । महासचिवका दाबेदार रामचन्द्र अधिकारी, रञ्जित तामाङ र डिबी तामाङ उपाध्यक्षमा उठ्ने भएका छन् ।
सात जना सचिवका लागि दीपक देवकोटा, सुरेन्द्र बस्नेत, गोपाल न्यौपाने, पञ्चा सिंह, राजु आले, मदन चुडाल, रमेश धामी, तिलक भण्डारी र दिपेश पुनलगायत एक दर्जनभन्दा बढीले उम्मेदवारी दिने तयारी गरेका छन् ।
क्रान्तिकारीको १९ औं सम्मेलनको एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार कीर्तिपुरमा उद्घाटन गरेका थिए ।