राजधानी बाहिरका होर्डिङ बोर्ड हटाइने

काठमाण्डु टुडे २०७० चैत २५ गते ९:०१ मा प्रकाशित

Hordingकाठमाण्डु, २५ चैत – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानी बाहिरका जिल्लामा समेत होर्डिङ बोर्ड हटाउने भएको छ ।

सहरी सौन्दर्य कायम राख्न र दुर्घटना कम गर्नका लागि अभियानात्मक रुपमा सो काम गर्न लागिएको मन्त्रालयका सहप्रवक्ता नारायणप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार धुलिखेल, बनेपा, धनगढी, सिद्धार्थनगर, धरान, विराटनगर, वीरगन्ज, घोराहीलगायत सहरमा बोर्ड हटाउनका लागि एक साता पहिले परिपत्र गरिसकिएको छ ।

एक महिनाभित्र बोर्डको लगत तयार पारिसक्नुपर्ने छ । चालु आवको अन्त्यसम्म सबै बोर्ड हटाइसक्न परिपत्रमा निर्देशन दिइएको छ । अश्लील बोर्डका कारण सवारी दुर्घटनामा पर्ने गरेको भन्दै पहिलो चरणमा त्यस्ता बोर्ड हटाइने र दोस्रो चरणमा अन्य व्यापारिक र व्यावसायिक होर्ड भने हटाइने छ ।

यसअघि काठमाण्डु महानगरपालिका र ललितपुर उपमहानगरपलिकाले सबै खालका बोर्ड हटाएको थियो । केही स्थानमा बोर्ड अझै बाँकी भए पनि त्यसलाई निकट भविष्यमा नै हटाइने छ । संविधानसभा निर्वाचनका क्रममा राजधानीका प्रायः सबै बोर्ड हटाइएको थियो । व्यवसायीले आफूहरुलाई कुनै जानकारी नदिई बोर्ड हटाइएको भन्दै आपत्ति प्रकट गरे पनि निर्वाचनको मर्यादालाई ख्याल गरेर हटाउन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएका कारण राजधानी होडिङ बोर्डमुक्त भएको थियो । सो समयमा महानगरपलिकाले एक हजार ११९ बोर्ड हटाइएको थियो ।

यस्तै मन्त्रालयले राजधानीका गल्ली तथा सडकमा राखिएका साना र मझौला सबै खालका बोर्ड तथा व्यावसायिक विज्ञापन र प्रचार सामग्रीलाई समेत नियमन गर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us