
काठमाण्डु, २५ चैत – एकीकृत माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीको काठमाण्डुमा जारी १९औं राष्ट्रिय सम्मेलअन्तर्गत आज निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुँदैछ ।
पार्टी शीर्ष नेतृत्व तहमा भएको प्रयास विफल भएपछि क्रान्तिकारीको इतिहासमा पहिलो पटक निर्वाचनमार्फत नेतृत्व चयन हुन लागको हो ।
सहमति प्रयास विफल भएपछि निर्वाचनमार्फत नेतृत्व चयन प्रक्रिया अघि बढाइएको अध्यक्षका प्रत्याशी रमेश मल्लले काठमाण्डु टुडेलाई बताए ।
‘नेतृत्व चयनमा सहमति हुन सकेन’, मल्लले भने, ‘निर्वाचन प्रक्रिया र सहमतिको प्रयास सँगसँगै अगाडि बढ्छ ।’
अध्यक्षमा हालका उपाध्यक्षद्वय मल्ल र जागृत रायमाझीबीच प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्षका अर्का दावेदार महासचिव बिन्दमान विष्टले अन्तिम समयमा आएर मल्ललाई समर्थन गरेका छन् ।
मल्ल संस्थापन र रायमाझी नेता नारायणकाजी श्रेष्ठ पक्षधर हुन् ।
अर्का नेता बाबुराम भट्टराई पनि रायमाझीका पक्षमा देखिएका छन् । सचिवद्वय नरेन्द्र न्यौपाने र अनिल शर्मा महासचिवमा भिड्दैछन् । महासचिवका दाबेदार रामचन्द्र अधिकारी, रञ्जित तामाङ र डिबी तामाङ उपाध्यक्षमा उठ्ने भएका छन् ।
सात जना सचिवका लागि दीपक देवकोटा, सुरेन्द्र बस्नेत, गोपाल न्यौपाने, पञ्चा सिंह, राजु आले, मदन चुडाल, रमेश धामी, तिलक भण्डारी र दिपेश पुनलगायत एक दर्जनभन्दा बढीले उम्मेदवारी दिने तयारी गरेका छन् ।
क्रान्तिकारीको १९ औं सम्मेलनको एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार कीर्तिपुरमा उद्घाटन गरेका थिए ।